Logo

ओली-प्रचण्ड मिलाउन को को लाग्यो ?



काठमाडौं, १९ माघ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहित प्रमुख कम्युनिस्ट पार्टी मिलाउन ठूलै शक्ति लागिरहेको छ । अमेरिकी सहयोगसम्बन्धी एमसीसी सम्झौता पारित हुनबाट विफल बनाउनका लागि एमाले र माओवादी मिलाउन ठूलै शक्ति लागेको हो ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नजिकिने वातावरण बनाइसकेको शक्तिले चुनावलाई समेत मध्यनजर गरी मिलाउन खोजेको हो । ओली र प्रचण्ड विगतमा पनि असमझदारीका बाबजुद एकता गर्न तयार भएका थिए । फेरि त्यही दिशातर्फ लाने प्रयासहरु चलेको हो ।

विश्वस्त स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले ओलीसँग निकटता बढाउन थालेपछि प्रचण्डले पनि विभिन्न माध्यमले ओलीसँग कुराकानी अगाडि बढाइरहेका छन् । ओलीका विश्वासपात्रहरुसँग प्रचण्डका विश्वासपात्रहरुको छलफल चलेको छ । ती नेताहरुले कम्युनिस्टहरुबीच एकताको सम्भावना सधै रहने बताउने गरेका थिए ।

ओली र प्रचण्ड फेरि मिल्न सक्ने सम्भावनालाई लिएर देउवा गम्भीर भएको बुझिएको छ । विगतमा देउवाले प्रचण्डले गठबन्धन गरिरहँदा २०७४ सालको चुनाव अघि चालेको कदमले कम्युनिस्टहरु एक भएका थिए । प्रचण्डले त्यतिबेला ओलीसँग हात मिलाएर देउवालाई धक्का दिएका थिए ।

कम्युनिस्ट पार्टीहरुको चिनियाँ कम्युनिस्ट पार्टीसँग सुमधुर सम्बन्ध रहेको अवस्थामा उत्तरबाट पनि ओली र प्रचण्ड मिलाउने प्रयास चलिरहेको बुझिएको छ । यसमा चिनियाँ सक्रियता बढेको बुझिएको छ । एमसीसीप्रति चीन नकारात्मक भएको र कम्युनिस्ट पार्टीहरुसँग उसको प्रगाढ सम्बन्ध रहेबाट ओली र प्रचण्ड दुवै यू टर्न भई मिल्ने सम्भावना नभएको होइन । तर, त्यो सजिलो भने छैन ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot