Logo

जसपा र लोसपा एमसिसी पास गराउन सहमत



काठमाडौं, माघ २१ । तराई–मधेस केन्द्रित जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) एमसिसी सम्झौता संसद्बाट पास गर्न सकारात्मक देखिएका छन्। जसपा सरकारमा छ भने लोसपा बाहिर छ।

प्रतिनिधिसभामा जसपाका १९ र लोसपाका १३ सांसद छन्। जसपाका दुई सांसद रेशम चौधरी र हरिनारायण रौनियार निलम्बित छन्। चौधरीले भने जसपा छाडेर नयाँ पार्टी घोषणा गरेका छन्।

जसपा संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले सार्वजनिकरूपमै एमसिसी पास गराउन लबिङ गरिरहेका छन्। जसपा कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादवले एमसिसीको पक्षमा औपचारिक रूपमा केही बोलेका छैनन् । तर पनि उनी पास गर्नुपर्ने कित्तामा रहेको स्रोत बताउँछ।
सरकारमा जसपाका चार मन्त्री छन्। जसमध्ये राजेन्द्र श्रेष्ठबाहेक अन्य ३ जना पार्टी अध्यक्ष यादवसँग निकट मानिन्छन्। उनीहरू सबै एमसिसीको पक्षमा रहेका छन् ।

यसैगरी, जसपाबाट अलग भएर बनेको लोसपा पनि एमसिसीको पक्षमा उभिएको छ। बुधबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न लोसपा अध्यक्ष महन्थ ठाकुर बालुवाटार पुगेका थिए। भेटमा एमसिसी, लोसपाका माग, सांसद रेशम चौधरीको रिहाइलगायत विषयमा छलफल भएको छ । नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot