Logo

संकीर्ण सोचले गर्दा परराष्ट्र र सुरक्षा नीतिमा साझा धारणा बन्न सकेन: अध्यक्ष नेपाल



काठमाडौँ, २४ माघ। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राजनीतिक दलका नेताहरूभित्रको संकीर्ण सोचले गर्दा परराष्ट्र र सुरक्षा नीतिमा साझा धारणा बन्न नसकेको बताएका छन् । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आज (सोमबार)को बैठकमा अध्यक्ष नेपालले विदेश मामिला र राष्ट्रिय सुरक्षाका विषयमा मुलुकभित्रका सबै दलहरूको साझा धारणा हुनुपर्ने बताएका हुन् ।

समितिले भूपू गोर्खा सैनिकको विषयमा छलफल राखेको थियो । अध्यक्ष नेपालले गोर्खा भर्तीबारे भारत, बेलायत र नेपालबीचको सन् १९४७ को सन्धिको औचित्यबारे पनि प्रश्न उठाएका छन् । नेपालले युवाहरूलाई गोर्खा सैनिकमा भर्ती गर्नुपर्ने तर त्यसको फाइदा अर्कै देशले पाइरहेको विषयमा सोच्ने बेला आएको नेपालको भनाइ थियो ।

एमालेका सांसद दीपकप्रकाश भट्टले ब्रिटिस गोर्खा भर्ती खारेज गर्नुपर्ने बताए । सन्धि गर्ने समयमा नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध बलियो नभएको र तत्कालीन सरकारलाई बाध्य पारिएको तर अब त्यो परिस्थिति फेरिएको उनको भनाइ थियो । जसपाकी सांसद रेनुका गुरुङले नेपाल त्रिपक्षीय सन्धिमै अड्ने हो कि नेपाल र बेलायतबीच द्वीपक्षीय सन्धि गर्ने हो ? भन्ने विषय राखेकी थिइन् ।

कांग्रेस सांसद दिव्यमणि राजभण्डारीले भूतपूर्व गोर्खाका समस्याबारे सरकारले पारदर्शी रूपमा काम गर्न नसकेको बताए । सरकारका मन्त्रीले समितिमा आएर त्यसको जवाफ दिनुपर्ने उनको भनाइ थियो ।-Photo By: Mukunda kalikote/reportersnepal



प्रतिक्रिया दिनुहोस्

Screenshot