Logo

फरहान र शिबानीको विवाह मौरिससमा हुने



एजेन्सी, २६ माघ । बलिउड अभिनेता तथा निर्देशक फरहान अख्तर पछिल्लो केही दिनदेखि गायिका शिबानी दांडेकरसँगको विवाहलाई लिएर लगातार चर्चामा छन्। अब फरहान–शिबानीको विवाहको सेलिब्रेशन मौरिससमा हुने खबर आएको छ ।

हालै, फरहान अख्तरका पिता जावेद अख्तरले फेब्रुअरी २१ मा मुम्बईको अदालतमा विवाह दर्ता गर्ने कुरा पुष्टि गरेका थिए। उनले दुवैले अदालतमा विवाह दर्ता गर्ने र त्यसपछि एउटा सानो उत्सव मनाउने बताएका थिए ।

रिपोर्टका अनुसार फरहान अख्तर र शिबानी डान्डेकरले आफ्नो विवाह समारोहको लागि कुनै अन्तिम गन्तव्य तय गरेका छैनन्। शिबानी र फरहानको विवाह समारोह पनि मुम्बई, लोनावाला र मौरिसस तीन ठाउँमा हुन सक्छ।

यसअघि विवाहको बारेमा जावेद अख्तरले यो जोडीले २१ फेबु्रअरीमा अदालतमा विवाह दर्ता गर्ने बताएका थिए । यसपछि खण्डालाको फार्महाउस ‘सुकुन’ मा परिवार र साथीभाइसँग एउटा सानो उत्सव मनाउने उनको भनाई छ । विवाहको सम्पूर्ण तयारीलाई वेडिंग प्लानरले हेरिरहेका छन् । उनले कोरोनाका कारण यो पर्वलाई निकै सानो राखेको बताए । अहिले सम्म कसैलाई निमन्त्रणा पठाएको छैन् । शिबानीको बारेमा कुरा गर्दै जावेदले निकै राम्रो केटी भएको बताए । हामी सबैले उनलाई धेरै मन पराउँछौं। सबैभन्दा ठूलो कुरा के हो भने फरहान र शिबानी एकअर्कालाई मन पराउँदै विवाह गर्दैछन् । यो धेरै राम्रो कुरा हो।

फरहान र शिबानीले विवाहमा सब्यसाचीको पहिरन लगाउने निर्णय गरेका छन् । तर, यो जोडी अहिले आफ्नो पहिरनको बारेमा कसैलाई जानकारी दिन चाहँदैनन् । फरहान–शिबानी करिब ४ वर्षदेखि रिलेशनशिपमा छन् र लिभ–इनमा बसिरहेका छन् । दुवैले सँगै घरपालुवा जनावर पनि पालेका छन् ।

फरहान र शिबानीले केही समय आफ्नो सम्बन्ध लुकाएर २०१८ मा आफ्नो सम्बन्धलाई अफिसियल गरेका थिए । फरहानले शिबानीसँग दोस्रो विवाह गर्ने भएका छन् । उनको पहिलो विवाह हेयर स्टाइलिस्ट अधुनासँग भएको थियो, जसबाट उनका दुई छोरीहरू पनि छन्।
फरहान अख्तर पछिल्लो पटक फिल्म ‘तुफान’ मा देखिएका थिए । यस फिल्ममा उनीसँगै मृणाल ठाकुर र परेश रावल पनि महत्वपूर्ण भूमिकामा देखिएका थिए । यो फिल्म गत वर्ष जुलाई १६ मा ओटीटी प्लेटफर्म अमेजन प्राइम भिडियोमा रिलिज भएको थियो।

फरहान अख्तर अहिले आफ्नो अर्को निर्देशन फिल्म ‘जी ले जरा’ मा काम गरिरहेका छन् । यस फिल्ममा कट्रिना कैफ, प्रियंका चोपडा र आलिया भट्ट मुख्य भूमिकामा छन् । फिल्म २०२२ को दोस्रो हाफमा फ्लोरमा जाने तयारी छ। फिल्म २०२३ मा रिलिज हुनेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot