Logo

३८ करोड बक्यौता नबुझाएपछि ड्रिमल्याण्ड होटेल बन्द गर्न निर्देशन



काठमाडौं, २७ माघ । नेपाल सरकारले नेपालगन्ज उपमहानगरपालिका–१० स्थित् ड्रिमल्याण्ड होटल बन्द गर्न निर्देशन दिएको छ । ड्रिमल्याण्डले ३८ करोड १० लाख ४५ हजार ६ सय ६४ बक्यौता नबुझाएको भन्दै होटल बन्द गर्न सरकारले निर्देशन दिएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेको प्रस्तावमा बुधबार मन्त्रीस्तरीय निर्णयले होटेल बन्द गर्ने निर्णय गरेको हो।
मिनी क्यासिनोसमेत सञ्चालन गर्दै आएको उक्त होटलले आर्थिक वर्ष २०७६/७७ सम्मको बक्यौता, आर्थिक वर्ष २०७७/७८ सम्मको इजाजतपत्र नवीकरण दस्तुर र चालु आर्थिक वर्षको रोयल्टीसमेत गरि ३८ करोड १० लाख ४५ हजार ६ सय ६४ रूपैंया नबुझाएको आरोप लागेको छ ।

बाराम्बार ताकेता गर्दा पनि बक्यौता रकम नबुझाएपछि सरकारले होटल बन्द गर्ने तथा मिनी क्यासिनोको लाइसेन्स रद्द गर्ने निर्णय गरेको हो।
होटललाई २०६७ भदौ २० गते ह्याप्पी आवर प्रा.लि. काठमाडौं–४ का नाममा भिडियो गेम, आधुनिक मेसिन उपकरणद्धारा कार्ड, चिप्स, क्वाइन, क्यास प्रयोग गरि आगन्तुकलाई मनोरञ्जन दिन ब्यवसायिक खेल खेलाउने अनुमति दिइएको थियो ।

प्रहरी प्रधान कार्यालय नक्साल काठमाडौं, लुम्बिनी प्रदेश सरकार समेतलाई पत्र लेख्दै उक्त होटल मन्त्रालय वा निकायअन्तर्गत दर्ता भएको भए दर्ता खारेज गर्न निर्देशन गर्न समेत दिइएको छ।



प्रतिक्रिया दिनुहोस्