Logo

देउवा-प्रचण्ड आ-आफ्नै अडानमा, माधव नेपाल अलमलमा



काठमाडौं, २७ माघ । प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी कुनै हालतमा टेबुल गरेर पारित गर्ने पक्षमा छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने एमसीसीलाई पछि धकेल्ने पक्षमा छन् । आज विहान बालुवाटारमा देउवा, प्रचण्ड र माधव नेपालबीचको भेटवार्तामा पनि दुवै आ आफ्नो अडानबाट पछि हटेनन् ।

विश्वस्त स्रोतका अनुसार प्रचण्डले चुनाव आइसकेकाले त्यसपछि एमसीसीबारे निर्णय गर्ने प्रस्ताव दोहोराए । तर, देउवा तयार भएनन् । नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले भने मध्यमार्गी बाटो खोल्ने प्रयास गरे । आजको बैठकमा पनि एमसीसीका केही बुँदामा संशोधनको प्रयास गर्नुपर्ने कुरा उठ्यो ।

१६ फागुनभित्र एमसीसी टुंगो लगाउन अमेरिकाले समयसीमा दिएको छ । त्यो समयसीमा पछि सार्ने सम्भावना नरहेको अमेरिकी पक्षबाट जवाफ आइसकेको अवस्थामा प्रचण्डले सार्ने कुरा गरेबाट देउवा बिच्किएका छन् ।

देउवाले कुनै हालतमा एमसीसी पारित गर्ने गरी रणनीति बनाइसकेका छन् । उनले प्रचण्ड र माधव नेपाललाई टुंगो दिन भनेको बुझिएको छ ।

गठबन्धन पनि जोगाउने र एमसीसीबारे पनि सहमतिको बिन्दु बनाउनेमा माधव नेपालले जोड दिएको स्रोतले बतायो । तर, नेता नेपाल केही अलमलमा देखिएका छन् । उनी एमसीसीलाई बेवास्ता पनि गर्न नसक्ने र गठबन्धन पनि टुटाउन नसक्ने अवस्थामा छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot