Logo

योगी आदित्यनाथको सम्पत्तिमा राइफल, कुण्डल देखि रुद्राक्ष माला



एजेन्सी, २७ माघ । भारतको सबैभन्दा बढी जनसंख्या भएको प्रदेश उत्तर प्रदेशमा चुनाव सुरु भएको छ । त्यहाँ मुख्यमन्त्रीका रुपमा योगी आदित्यनाथ छन् । उनी उत्तराखण्डमा जन्मिएर गोरखपुरस्थित मठको मठाधीश हुँदै राजनीतिमा लागेका हुन् ।

उत्तराखण्डमा ५ जुन सन् १९७२ मा जन्मिएका योगीको खास नाम अजय सिंह बिष्ट हो । उनी गोरखनाथ मठका मठाधीश पनि हुन् । योगी अविवाहित हुन् । उनले सम्पत्ति विवरण त्यहाँको सरकारलाई बुझाएका छन् ।

उनको कुल सम्पत्ति भारु १ करोड ५४ लाख उल्लेख छ । उनले प्रति महिना एक लाख भारु तलब पाउने गरेका छन् । ७१ हजार रहेको उल्लेख छ । सम्पत्तिमा कानमा सुनको कुण्डल २० ग्राम, घाँटीमा सुनको धागोमा रुद्राक्ष माला १० ग्राम, सामसुङ मोबाइल १२ हजार भारुको एक थान उल्लेख छ ।

योगीको सम्पत्तिमा ८० हजार भारु पर्ने राइफल पनि उल्लेख छ । उनको नाममा कुनै सवारी साधन छैन ।

उनको फेसबुक र ट्वीटर गरेर दुईवटा सामाजिक सञ्जाल समेत रहेको उल्लेख छ ।

योगी सामान्य परिवारका हुन् । उनको एक भाई चीया बेच्छन् । बहिनी मन्दिरमा फूल प्रसाद बेच्छन् भने आमा गृहिणी हुन् । पिताको निधन भइसकेको छ ।

योगीले गणवालस्थित एच एन बहुगुना विश्वविद्यालयबाट विज्ञानमा स्नातक गरेका छन् । उनी गणितमा निकै चाख राख्थे । तर, २१ वर्षको उमेरमा घर छाडेर योगी बने । उनी गोरखनाथ मठका मठाधीश महन्थ अवैद्यनाथका चेला थिए । उनी अवैद्यनाथपछि मठाधीश बने ।



प्रतिक्रिया दिनुहोस्