Logo

एमसीसी असफल बनाउन ओली-प्रचण्ड मिल्नसक्ने, देउवा सतर्क



काठमाडौं, २८ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले हतारमा कुनै निर्णय लिएका छैनन् । एमसीसी पारित गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्त राखे । जसमा सभामुख अग्निप्रसाद सापकोटालाई हटाउने र गठबन्धन तोड्ने रहेको छ । देउवा विकल्पसहित ओलीसँग सहमति बनाएर बसेका छन् । तर, हतारमा निर्णय लिन तयार भएका छैनन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि एमसीसी पारित गर्न देउवालाई सर्त राखेका छन् । जसमा केही बुँदा संशोधन देखि चुनावमा तालमेलको सर्त छ । देउवा यसमा पनि तयार भएनन् ।

ओलीको सर्त मानेमा धोका हुनसक्ने आशंका देउवालाई छ । एमसीसीबारे एमालेभित्र एउटा समूह सकारात्मक छैन । विशेषगरी भीम रावल समूह असन्तुष्ट छ । रावलसहित १३ सांसदले विद्रोह गरेमा सभामुख हटाउने प्रस्ताव असफल हुन्छ । जसले एमसीसी पारित गर्ने रणनीतिमा धक्का लाग्न सक्छ । अर्कोतर्फ ओली स्वयं एमसीसीबारे खुलेका छैनन् ।

आफू प्रधानमन्त्री हुँदा ओली एमसीसी पारित गर्छु भनेर बढेका थिए । उनले तत्कालीन सभामुख कृष्णबहादुर महराले टेबल नगरेको भन्दै सार्वजनिक रुपमा आलोचना गरेका थिए । यथार्थमा ओलीले अमेरिकालाई समेत अलमलाएको र एमसीसी नबढाएको विश्लेषणहरु भएका छन् । उनले एमसीसीको विषयमा देउवालाई धोका दिने सम्भावना पनि छ ।

ओली चीनसँग बढी नजिकिएका छन् । उनको पालामा चीनसँग महत्वपूर्ण सम्झौताहरु भए । सीमा समस्यामा पनि उनले चीनकै शैलीमा कुनै समस्या नरहेको बोले । एमसीसी रोक्न चीन नै लागेको बुझाई अमेरिकाको देखिन्छ । यसले पनि ओलीले धोका दिनसक्ने डर देउवालाई छ ।
प्रचण्डले एमसीसीको पक्षमा नजाने सन्देशहरु दिइसकेका छन् । उनले एमसीसीसँग ५ महिना मागेर पत्र नै लेखे । अन्तमा त्यो पत्र उजागर भएपछि आफूले रणनीतिक रुपमा गठबन्धन जोगाउन मात्र पत्र लेखेको जवाफ दिए । वास्तवमा प्रचण्ड चीनलाई चिढ्याउन चाहँदैनन् । उनी यसकारण पनि एमसीसी पारित गर्ने पक्षमा छैनन् ।

चुनाव पछि एमसीसीको टुंगो लगाउने विषय धकेल्न खोज्दैनन् । अलमलाउँदै लाने उनको उद्देश्य खुलिसकेको छ । देउवाले त्यो बुझेर आक्रामक रणनीति तयार गरिसकेका छन् । तर, दुई ठूलो कम्युनिस्ट पार्टी मिलेमा चुनावको मुखमा धक्का पर्ने बुझाई देउवाको छ । त्यसैले उनी निकै संयमित भइरहेका छन् । एमसीसी पारित गर्न कि ओली कि प्रचण्डसँग मिल्नुपर्ने वाध्यता छ । उनका लागि ओली र प्रचण्ड दुवै चुनौती बन्न थालेका छन् । दुवैबाट धोका हुनसक्ने भएकाले देउवा जोखिम देखिरहेका छन् ।

एमसीसी असफल बनाउन चीनको सक्रियतामा ओली र प्रचण्डको मिलन हुनसक्ने सम्भावना पनि छ । विगतमा चिनियाँ पक्ष यी दुई नेता मिलाउन खुलेरै लागेको थियो । यसपटक पनि चीनको सक्रियता बढ्दै गएको छ । यसकारण देउवा सतर्क भइरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्