Logo

“गीता छोएर कसम खाएकाले पार्टी फुटाइनँ” : कमल थापा (भिडिओसहित)



काठमाडौं, २८ माघ ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष कमल थापाले राजसंस्था र राप्रपासँग डिभोर्स गरी हिन्दुराष्ट्र, सुशासन र समृद्धिलाई आधार बनाएर निकट भविष्यमा नयाँ पार्टी गठन गर्न लागेको बताएका छन् ।

प्राइम टाइम टेलिभिजनबाट हिजो राति प्रसारित ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता थापाले भने, “म ३१ वर्ष राप्रपामा निरन्तर क्रियाशील रहेँ । सूर्यबहादुर थापाको पार्टी स्थापना लगत्तै राजनीतिक सचिव, प्रवक्ता, महामन्त्री हुँदै अध्यक्षसम्म भएँ । म अब राजाविहीन प्रजातन्त्रको पक्षमा हुन्छु । राजसंस्था पुनःस्थापनाको कार्यनीति लिएर सडकमा जान्नँँ । राप्रपा र राजसंस्थासँग मेरो डिभोर्स भैसक्यो । अब तीतो कुरा गर्न चाहन्नँ ।”

गीता छोएर कसम खाएकाले नै राप्रपाभित्र बसेर पार्टी नफुटाएको नेता थापाको स्पष्टोक्ति छ । उनले थपे, “महाधिवेशनमा म पराजित भए पनि मेरो टिमबाट दुई तिहाइ बहुमत सदस्य निर्वाचित भएका छन् । महाधिवेशनपछि म ४० प्रतिशतले पार्टी फुटाउन सक्थेँ । तर गीता छोएर कसम खाएकाले राप्रपाभित्र बसेर पार्टी फुटाउनु उपयुक्त हुन्थेन । निर्मल निवासको हस्तक्षेपका कारण मात्र मैले हारेको हुँ । मेरा ७२ मत बिग्रेका छन् । मैले जितेको भए पनि प्रश्न उठाउनुपर्थ्र्यो ।”

कमल थापाको राप्रपा फर्कने अध्याय समाप्त भएको पनि उनले दाबी गरे । उनले भने, “निश्चय पनि राप्रपाबाट अलग हुँदा मलाई अत्यन्त पीडाबोध भएको छ । पार्टी र कार्यकर्ताको माया पनि लाग्छ । पशुपतिशमशेरलगायत नेताहरुले फर्कनलाई गरेको आग्रहलाई सद्भावका रुपमा बुझेको छु । तर महाधिवेशनपछि मलाई जुन अपमान र उपेक्षा गरियो, पार्टीबाट अलग्याउने र राजनीतिक जीवन समाप्त पार्ने स्थितिमा अप्रिय र पीडाबोध भएर पनि अलग हुने निर्णय गरेको हुँ । यसमा मलाई पश्चात्ताप छैन । कसैसँग मेरो बैरभाव पनि छैन । राप्रपाको भलो होस् । यसको बारेमा नकारात्मक सोच्नै सक्दिनँ ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot