Logo

ज्येष्ठ नागरिक अस्पताल अर्को आर्थिक वर्षमा स्थापना हुने : स्वास्थ्य खतिवडा



काठमाडौँ, २८ माघ: स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले ज्येष्ठ नागरिकलाई मात्र उपचार गर्न भनेर ज्येष्ठ नागरिक अस्पताल स्थापना गर्न लागिएको बताएका छन् । मन्त्री भएको एक सय दिन पुगेको अवसरमा आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

मन्त्री खतिवडाले अस्पताल स्थापनाका लागि समिति गठन गरेर सम्भाव्यता अध्ययन कार्य भइरहेको र अर्को वर्ष बजेट विनियोजन गरेर कार्य प्रारम्भ गर्ने जानकारी दिए । मुलुकको मध्यभागमा ज्येष्ठ नागरिक अस्पताल स्थापना गर्ने सरकारको तयारी छ ।

यस्तै दुई हजार २०० वडामा वडा तहको आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन निर्माण कार्य सम्पन्न भएको उनको भनाइ छ । दुई सय २६ पालिकामा पाँच, दश, १५ शय्याका आधारभूत अस्पतालको बोलपत्र प्रक्रिया भई कार्य प्रारम्भ भएको उनले बताए । जर्मन विकास बैंकको सहयोगमा दोलखाको जिरी, रामेछाप र गोर्खामा सुविधा सम्पन्न अस्पताल भवन निर्माण सम्पन्न भएर हस्तान्तरणसमेत भइसकेको उनले जानकारी दिए ।

खतिवडा गत असोज २२ गते स्वास्थ्यमन्त्रीमा नियुक्त भएका थिए । उनी २०७४ सालको संसदीय निर्वाचनमा मकवानपुर क्षेत्र नं २ बाट निर्वाचित भएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot