Logo

के रुसले युक्रेनमाथि आक्रमण गर्ला ?



एजेन्सी, २९ माघ । रुसले युक्रेनमाथि आक्रमण गर्नसक्ने भन्दै अमेरिकाले यूरोपमा सैन्य उपस्थिति बढाइरहेको छ । अमेरिकासहितको सैन्य संगठन नाटोको सक्रियता पूर्वी यूरोपसम्म बढेको छ । युक्रेनमा हतियार बढीभन्दा बढी पुगिरहेको छ । अमेरिकाले रुसको छिमेकी नाटो सम्वद्ध देशहरुमा सैनिक उपस्थिति बढाइरहेको छ ।

रुसले पनि युक्रेनको सीमा क्षेत्रमा सैनिक अभ्यासहरु चलाइरहेको छ । बेलारुसमा रुसी सैनिकसहितको युद्ध अभ्यास जारी छ । युक्रेनले समुन्द्र मार्ग नै रुसले अवरोध गरेको आरोप लगाएको छ । रुसी युद्धपोतहरु ब्ल्याक सीमा तैनाथ गरिएको भन्दै युक्रेनले अवरोधको विषय उठाएको हो ।

पूर्व सोभियत राज्य युक्रेन नाटोमा आवद्ध हुन खोजेपछि रुस चिढिएको हो । उसले पूर्व सोभियत संघका देशहरु नाटोमा आवद्ध भएको रुचाएको छैन । रुसले पनि ग्याँस पाइपलाइन पश्चिम यूरोपसम्म जोडेको छ । विशेषगरी जर्मनीसँगको ग्याँस पाइपलाइनको रणनीतिक महत्व छ । यो पाइपलाइन सञ्चालनको तयारीमा छ । ग्याँस पाइपलाइन सञ्चालनमा आए रुसको ग्याँसले पश्चिम यूरोपसम्म बजार पाउँछ । पश्चिम यूरोपका देशहरुले पनि सस्तोमा ग्याँस पाउँदा लाभ पाउँछन् । यसबाट रुसले आर्थिक लाभ मात्र नभई सामरिक महत्वका देशहरुमा पनि प्रभाव बनाउन सक्छ ।

अमेरिका रुसको ग्याँस पाइपलाइनसँग झस्किएको छ । युक्रेनमाथि आक्रमण भए पाइपलाइन काटिदिने धम्की दिइरहेको छ । रुसले भने अमेरिकामाथि आफूलाई युद्धमा धकेल्न खोजेको आरोप लगाइरहेको छ ।

युक्रेनको आकाशमा युद्धको कालो बादल मडारिएपनि यूरोपेली देशहरु त्यसलाई रोक्न लागेका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्न फ्रान्सेली राष्ट्रपति इमानुल म्याक्रेन मस्को नै पुगे । अमेरिकी राष्ट्रपति जो वाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोन वार्ता गर्दै आएका छन् । तर, युक्रेन संकटको निकास निस्किएको छैन ।

युक्रेनको विषयमा अमेरिका र रुसको आफ्नै सामरिक स्वार्थ छ । अमेरिका युक्रेनलाई नाटोमा आवद्ध गराएर रुसमाथि दबाब बढाउन चाहन्छ । युक्रेनमा रुसनिकट शासक आउन नदिन लागेको छ । रुस भने कुनैपनि हालतमा युक्रेनमा प्रभाव बढाउन चाहन्छ । युक्रेनमा आफू निकट शासक स्थापित गरी नाटोमा आवद्ध हुनबाट रोक्न खोजिरहेको छ । यो रस्साकस्सीका कारण युक्रेन युद्धमा धकेलिने सम्भावना पनि छ । तर, पुटिन युद्धबाट नभई रणनीतिक चार्तुयताबाट युक्रेनमाथि प्रभाव बनाउन खोजिरहेका छन् । यूरोपमै रुसको प्रभाव बढाउने उनको महत्वाकांक्षी योजना देखिदैछ । यसले अमेरिकालाई ठूलो चुनौती बनेको छ ।



प्रतिक्रिया दिनुहोस्