Logo

एमसीसीमा घर्किंदै समयसीमा



काठमाडौं, फाल्गुन १ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी० सँगको सम्झौता अनुमोदनका लागि दिइएको समय घर्किंदै गए पनि दलहरू आआफ्नो अडानबाट ‘टसमस’ भएका छैनन् । एमसीसी सम्झौता संसद्बाट अनुमोदन गराउन प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आफैले दिएको समयसीमा सकिन अब १४ दिनमात्रै बाँकी छ । तर, एमसीसी सम्झौता संसद्मा छलफलका लागि समेत पेश हुने संकेतसम्म देखिएको छैन ।

सत्ताको बागडोर सम्हालेको नेपाली कांग्रेसभित्र नै तत्काल एमसीसी सदनमा लगेर पास गर्नुपर्ने पक्षमा देखिएको छ भने माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चासहितका दलहरू भने एमसीसी तत्कालै अघि बढाउने पक्षमा देखिएका छैनन् । एमसीसीमा भएका कतिपय बुँदा संशोधन गरेपछि मात्र सदनमा अघि बढाउनुपर्ने अडानबाट माओवादीसहितका दलहरू एक इन्च पनि पछि नहट्दा एमसीसी सम्झौता अनुमोदनका लागि प्रक्रियामै जान सकेको छैन ।

एमसीसी अनुमोदनका लागि पार्टी भित्रबाट पनि चर्को दबाब खेपिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले भने सहमतिको प्रयासलाई जारी राखेका छन् । उनले एमसीसी संसद्मा पेश गर्न सहमति जुटाउन शनिवार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका छन् ।

छलफलमा प्रधानमन्त्री देउवाले प्रतिनिधिसभाको अब बस्ने बैठकमा एमसीसी सम्झौता पेश गर्ने प्रस्ताव गरेका थिए । तर, दाहाल र नेपालले यथास्थितिमा एमसीसी अघि बढाउन नसकिने अडान दोहोर्‍याएको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot