Logo

एमसीसी सम्झौताविरुद्ध देशैभरि विरोध प्रदर्शन



काठमाडौं, फागुन २ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता यथास्थितिमै संसद्बाट पारित गर्न नसकिने भन्दै आइतबार देशैभरि विरोध प्रदर्शन गरेको छ ।

प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी सम्झौता संसद्बाट यथास्थितिमै पारित गर्नका लागि अगाडि बढ्न खोजेपछि सत्तारूढ एकीकृत समाजवादीले सडक आन्दोलनमा उत्रेको हो ।

काठमाडौंसहित देशैभरि एकीकृत समाजवादी तथा जनवर्गीय संगठनले संयुक्त रूपमा विरोध प्रदर्शन गरेका छन् । एमसीसी सम्झौता यथास्थितिमै पारित गर्न सकिँदैन, एमसीसी सम्झौता खारेज गर, नेपालको संविधान सबैभन्दा माथि हो लगायत नारा लगाउँदै एकीकृत समाजवादीले विरोध प्रदर्शन गरेको हो ।

पाँच दलीय गठबन्धनको सरकार अहिले छ । तर, प्रधानमन्त्री देउवाले संसद्मा टेबुल गर्ने रणनीतिअनुसार अगाडि बढेका छन् । यस विषयमा शीर्ष नेताबीच पटक पटक छलफल हुँदै आएको भए पनि सहमति जुट्न सकेको छैन ।

पाँच दलीय गठबन्धनमा रहेको एकीकृत समाजवादी, माओवादी केन्द्र, जसपा, राष्ट्रिय जनमोर्र्चाले यथास्थितिमै एमसीसी सम्झौता संसद्बाट पारित गर्न नहुने पक्षमा उभिँदै आएका छन् । तर, सत्तारूढ नेपाली कांग्रेसले एमसीसी जसरी भए पनि पारित गर्ने रणनीतिमा लागेको छ । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot