Logo

दु:ख छ बरै ! : सूर्य थापा



१- ‘जनयुद्द’मा १७ हजार नागरिककाे संहार गरेर त आएकाे हाे। करिब तीन कराेडमा याे कुन ठूलाे संख्या हाे? मैले ५ हजारकाे जिम्मजमानी लिइसकें। तैपनि मैले शान्तिका कुरा गर्दा मानिसहरू किन हाँस्ने? यसपालि फागुन १ गतेकाे जनयुद्ध दिवस म, देउवाजी र माधवजीले न्यायालयमाथि छापामार हमला गरेर मनाएकाे संकेत बुझ्नुपर्ने हाेइन?

२- म केवल ३३ बर्षदेखि महामन्त्री र अध्यक्ष भई पार्टीको मूल नेतृत्वमा बिराजमान छु। शाहहरूले २४० बर्ष राष्ट्रप्रमुख, राणाहरूले १०४ बर्ष सरकारप्रमुख र माेहनविक्रमजीले ‘सामाजिक शिक्षा’ विषयमा कारबाही पर्दासमेत गरि ४७ बर्षदेखि निरन्तर कम्युनिस्ट पार्टीको महामन्त्री सम्हालिरहनुभएकाे छ । मैले त अध्यक्ष, महामन्त्री र महासचिव गरी जम्मा जम्मी ३३ बर्ष मात्रै त हाे ।अनि मैले जनवाद र लाेकतन्त्रका भाषण गर्दा नपत्याउनु? अस्ति भर्खर आठाैं महाधिवेशनमा लाेकतन्त्रकाे सुन्दर अभ्यास गरेर फेरि आफै सर्वसम्मत भएकाे छु । ओली चितवनमा सर्वसम्मत हुनसके? सकेनन् नि! म त सम्मेलन भन्दै भन्दै झ्याप्प महाधिवेशन गरेर सर्वसम्मत भएँ। याे महान् छलाङसम्म नबुझ्ने कस्ता साथीहरू?

३- अहिले ठेकेदार शारदाप्रसादकाे रामझुपडीमा र यसअघि सुमार्गीजीका आफन्तकाे साैजन्यमा नि:शुल्क भाडामा बसेर सादा जीवन बिताएकाे छु। मैले उच्च क्रान्तिकारी भाषण गर्दै हिड्दा किन कर्णप्रिय मानेर नसुनी नुवाकाेट र नगरकाेटकाे बाटाेकाे ठेक्का लिएर काम नगर्ने ठेकेदारकाे डेरावाला भनेर उडाउने ? यसाे गर्न मिल्छ?

४- मेराे परिवारका सबै सदस्य- छाेरी, ज्वाइँ र बुहारीलाई एकएक वटा राजकीय नियुक्ति र जिम्मेवारी मात्रै त दिएकाे हाे, विराेधीहरूले त्यसलाई दाहालतन्त्र भनी बेकारमा खेदाे खन्ने गर्छन्, जनयुद्ध मेराे नेतृत्वमा भएकाे हाे, जसकाे नीति उसकाे नेतृत्व र माैरी काढ्नेले नै मह चाट्छ भन्ने पनि नबुझ्ने? उत्तर काेरियामा किम इल सुङले कान्तिकाे नेतृत्व गर्नुभयाे,आज नातिले राष्ट्रपति र महान् नेता भएर नेतृत्व गरिरहेका छन्। प्रकाश गइहाले, नत्र यहाँ पार्टीको भावी नेतृत्व उनैले सम्हाल्नसक्ने प्रचूर संभावना देखिरहेकाे थिएँ।हामीले राजतन्त्र फालेर स्थापना गरेकाे लाेकतान्त्रिक गणतन्त्रमा बिना मन्त्री नभएर हिमानी त हुने हाेइन नि! हाम्राे यति सुन्दर अभ्यासकाे पनि साथीहरूले प्रशंसा नगर्ने?

५- एमसीसी संझाैता २०७४ मा देउवाजीलाई मैले प्रधानमन्त्री बनाएपछि महराले वार्ता गरी टुंग्याएर हाम्रै सल्लाहमा ज्ञानेन्द्रबहादुर कार्कीले अमेरिकामा सही गरेकाे हाे। अहिले फेरि ओलीलाई हटाएर मैले देउवाजीलाई नै प्रधानमन्त्री बनाएपछि ४-५ महिनाभित्र संसदबाट अनुमाेदन गराउने भनी लिखित कबुलियतनामा पठाएको हाे! मने, त्यसबापत हामीले के पाउने हाे? यतिका समय लिंदा पनि कुरा प्रष्ट नभनिदिएपछि यहाँ राँके जुलुस निकाल्न र बिराेध गर्न त मैले नै लगाएकाे हाे! जनताकाे भावनालाई बुझ्ने म जस्ताे अत्यन्त भावुक र विशेष संवेदनशील नेतृत्वलाई उल्टै प्रहार गर्ने ? युद्ध अपराधमा कारबाही नगर्ने भनी अमेरिकीहरूले हामीलाई लिखित कबुल गर्नुपर्दैन त ?

६- सर्वाेच्च अदालत र त्यसका प्रधानन्यायाधीशले त गठबन्धनको लाचारछायाँजस्तै बनेर पाे काम गर्नुपर्छ। हामीले जेजे भन्छाैं, परमादेशजस्तै साेसाे पाे फैसला गरिदिनुपर्छ। ‘मैले दीपक कार्कीलाई प्रधानन्यायाधीश बनाउने र माधवजीले आफ्ना मावली ईश्वर खतिवडा’लाई भावी प्रधानन्यायाधीशकाे लाइनमा राख्ने, त्यसकाे लागि चाेलेन्द्र श्रीमानले राजिनामा दिने वा घरविदामा बस्ने मात्र त भनेकाे हाे, त्यति पनि नमानेपछि अदालतमा अराजकता, बिकृति र बेथिति बढाएकाे दाेषमा उनीमाथि महाअभियाेग दर्ता गर्नु परेन ? यसका निम्ति देउवाजीलाई शनिबार कुन दु:खले मनाइएकाे छ भनेर नबुझिदिने ?

७ – हामी(माेहनजीसमेत)ले जीवनभरि कम्युनिष्ट पार्टीको पसल थापेर अहिले देउवाजीकाे नेतृत्वमा समाजवादकाे आधार तयार गर्ने क्रान्तिकारी काम गरिरहेकाे सामान्य कुरा समेत नबुझ्ने हाे त? यति कुरा पनि नबुझेकाहरूले के राजनीति गर्नु? कति मेहेनतले यसमा माधवजी, झलजी, विक्रमजी, केसीजी र दुर्गाजीहरूलाई समेत सहमत गराइएकाे छ । हामीले सकेनाैं र सक्दैनाैं,ओलीलाई त दिनैभएन, उनी हामीले भनेभन्दा भिन्न देश बनाउने प्रतिगमनकाे बाटाेमा पाे लागे ! अब तपाईंले हाम्राे नेतृत्व गरेर कम्युनिस्ट सत्ता र समाजवादचाहिं ल्याउनैप-याे भनेर देउवाजीलाई सहमत गराएर सात महिनादेखि उहाँको छत्रछाँयामा हामी छाैं!यस तथ्यकाे आधारमा सत्यमा पुग्न नसक्ने पनि वामपन्थीहरू हुन्छन् ?

८- अब अग्निप्रसादजीले एमसीसी प्रतिनिधिसभामा टेबुल गर्नुपर्छ। ओलीलाई सताउन र असफल बनाउन उहाँहरू(महरा र अग्निजी)ले विशेष जिम्मेवारी पूरा गरिसक्नुभयाे। देउवाजीलाई तर्साएर महाअभियाेग दर्ता गर्ने ठाउँमा ल्याउन पनि सफल भूमिका खेलिसक्नुभयाे, यसकाे पार्टीले उच्च मूल्यांकन गर्दै दीपक कार्की नेतृत्वकाे सर्वाेच्चबाट युद्धकालीन विचाराधीन मुद्दामा उन्मुक्ति र सफाइ दिलाउने फैसला छिटोभन्दा छिटाे गराइने छ।

तर अब एमसीसी ओलीले भाेट हालेर पारित गराइदिनुपर्छ, त्यसका निम्ति म सानाे बनेर कालकाेट जान पनि तयारै छु । राजनीतिमा यस्ताे गर्न सक्नुपर्छ। अनि देउवाजीले उहाँको नेतृत्वको गठबन्धन कायम राखी चुनावमा लगेर हामीलाई जिताउने जिम्मेवारी पनि पूरा गर्नुपर्छ। नत्र त हामी न क्रान्तिकारी रहन्छाै न त चुनाव जितेर संसदमा आउनसक्ने अवस्थामै छाैं । उहाँहरू दुबैजनाले त्यसाे नगरे त हामी चुनावमा जाँदैनाैं,फेरि जंगल जान्छौं। यसपालि जंगल जाँदा माधवजी र विक्रमजीसहित उहाँहरूका सबैलाई साथमै लैजाने काेशिस गर्छाैं! अनि हेर्नुहाेला !!



प्रतिक्रिया दिनुहोस्