Logo

एमाले सांसदहरुको ६ वटा खाली कागजमा हस्ताक्षर संकलन किन ?



काठमाडौं, २ फागुन । नेकपा एमालेले संसदीय दलको बैठकमै हस्ताक्षर संकलन गरेको छ । एमाले स्थायी कमिटी सदस्य समेत रहेका सांसद शेरबहादुर तामाङले हस्ताक्षर संकलन भइरहेको बताए ।

तामाङका अनुसार ६ वटा खाली कागजमा हस्ताक्षर संकलन अगाडि बढाइएको छ । एमालेले संसदीय दलको बैठकमा उपस्थित हुन ह्वीप जारी गरेको छ । ९७ जना सांसदमध्ये सबैजसो उपस्थित भए ।

एमालेले ६ वटा खाली कागजमा हस्ताक्षर संकलन गराउनुलाई अर्थपूर्ण मानिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध सत्ता गठबन्धनले महाभियोग लगाएपछि एमालेले काउन्टर महाभियोग लगाउने चर्चा चलिरहँदा खाली कागजमा एमालेले हस्ताक्षर संकलन गरिरहेको हो ।

एमालेले सर्वोच्च अदालतका केही न्यायाधीशमाथि महाभियोग लगाउने चर्चा चलिरहेको छ । उसले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध पनि महाभियोगको तयारी गरेको विषय चलिरहेको छ । तर, एमाले नेता शेरबहादुर तामाङले भने महाभियोग लगाइहाल्ने निर्णयमा नपुगेको बताए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले आक्रोश र आवेगमा निर्णय नलिने बताएका छन् । उनले तत्काल महाभियोगमा नजाने संकेत गरे । तर, छापामार शैलीमा गठबन्धनले महाभियोग लगाएर चुनाव रोक्न खोजेको एमालेको आरोप छ । उसले पनि छापामार शैलीमा महाभियोग लगाउने सम्भावनालाई नकार्न सकिदैन ।



प्रतिक्रिया दिनुहोस्

Screenshot