Logo

पचहत्तर लाख पशुपन्छीलाई खोप लगाइँदै



काठमाडौं, फागुन ३ । पशुपन्छीमा समय–समयमा एकै पटक देखिने प्रकोप नियन्त्रणका लागि देशैभर खोप अभियान सञ्चालन गरिएको छ । निःशुल्क खोप प्रवाह कार्यक्रमका नाममा सुरु भएको अभियान हिउँद र बर्खामा देखिने विभिन्न प्रकृतिका सङ्क्रामक रोगविरुद्ध पशुपन्छीमा प्रतिरोधात्मक क्षमता विकास गराउने उद्देश्यले सञ्चालन भइरहेको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको पशु सेवा विभागको प्रत्यक्ष निगरानीमा सबै प्रदेशका भेटेरिनरी अस्पतालको सहयोग, प्रदेश कार्यालयको समन्वय र स्थानीय तहको प्रत्यक्ष उपस्थितिमा एकै पटक खोप कार्यक्रम सुरु भएको हो । अभियानअन्तर्गत केही प्रदेशले धमाधम खोप लगाउँदै छन् भने केही फागुनको दोस्रो सातादेखि लगाउने तयारीमा छन् ।

स्थानीय तह र प्रदेश सरकारसँगको समन्वयमा पशु सेवा विभागले लगत सङ्कलन गरी एकै पटक मुलुकभर ७५ लाख पशुपन्छीलाई खोप लगाउन सुरु गरेको हो । जोखिम धेरै देखिएका सुँगुर प्रजातिका जनावरमा लाग्ने रोगविरुद्ध सीएसएफ, कुखुरामा लाग्ने रानीखेत आईटु, गाईभैसीमा लाग्ने भ्यागुते र चरचरे, भेडाबाख्रामा लाग्ने रोग तथा खुर फाटेका जनावरमा लाग्ने खोरेत रोगको प्रकोप रोक्न एकै पटक देशव्यापी रूपमा खोप अभियान सञ्चालन भइरहेको छ ।

विभागले खोप उपलब्ध गराएसँगै प्रदेशले आफ्नो हिसाबले फरक–फरक समयमा खोप अभियान सञ्चालन गर्नेछन् । यो पटक सुँगुरलाई लाग्ने रोगविरुद्ध तीन लाख ७३ हजार, कुखुरामा लाग्ने रानीखेतविरुद्ध एक लाख ८० हजार, गाईभैँसीलाई लाग्ने भ्यागुते चरचरेविरुद्ध दुई लाख ५० हजार, भेडाबाख्रामा लाग्ने रोग नियन्त्रणका लागि पीपीआर ४१ लाख ७० हजार खोप जिल्लामा पठाइएको छ ।

यसैगरी कुकुरबाट लाग्ने रेबिजविरुद्ध दुई हजार पाँच सय र खुर फाटेका जनावरमा लाग्ने खोरेत रोगविरुद्ध २२ लाख ४० हजार भाइल खोप देशभर पठाइएको छ । यसबाहेक स्थानीय तहले आफ्नो योजनाअनुसार नियमित खोप कार्यक्रम सञ्चालन गरिरहेको छ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्