Logo

आठ वर्षदेखि उत्तरी नाकाबाट निर्यात शून्य



काठमाडौं, फागुन ३ । उत्तरीतर्फका मुख्य दुई नाका तातोपानी र केरुङबाट हुने चीनसँगको व्यापार आठ वर्षदेखि सहज छैनन् । यी नाकाबाट न्यून परिणाममा आयात हुने गरे पनि निर्यात भने शून्य छ ।

यी दुवै नाकाबाट चीनसँग हुने व्यापारमा अघोषित प्रतिबन्धजस्तै हुँदै आएको, निर्यात शून्य रहेको र आयात दिनहुँ ओरालोतिर लाग्दै गएको यहाँका व्यापारी बताउँछन् । नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका अध्यक्ष अशोक श्रेष्ठले यी दुई नाकाबाट निर्यात नभएको आठ वर्ष भएको र आयात पनि सहज नभएको जानकारी दिए।

२०७१ साउन १७ गते जुरे पहिरोपछि रोकिएको निर्यात अहिलेसम्म हुन सकेको छैन । त्यसपछि २०७२ को विनाशकारी भूकम्प, २०७३ र त्यसपछिको भोटेकोसी बाढीपहिरोका कारण देखाउँदै चीनले नाकाको सहज सञ्चालन गरेको छैन । २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि २०७६ जेठ १५ गतेसम्म तातोपानी नाका चीनले एकतर्फी रूपमा पूर्ण बन्द गरेको थियो ।

यो अवधिमा तातोपानी नाकाबाट कुनै पनि कारोबार नै भएन । दुई वर्षअघि आंशिक रूपमा खुलेको यो नाकाबाट आयात पनि खस्कँदै गएको छ । नेपाल सरकारको पहलमा चीनले उक्त नाका २०७६ जेठको तेस्रो साता आंशिक रूपमा खुलाएको थियो । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot