Logo

ब्राजिल र अर्जेन्टिनाको खेल पुनः हुने



काठमाडौं, ३ फागुन : विश्व फुटबलको सर्वाेच्च निकाय फिफाले कतार विश्वकप-२०२२ को दक्षिण अमेरिकी छनोटअन्तर्गत ब्राजिल र अर्जेन्टिनाबीच स्थगित खेल पुनः खेलाइने भएको छ । सेप्टेम्बरमा ब्राजिलको घरेलु मैदान सान पाओलोमा खेल चलिरहँदा कोभिड-१९ संक्रमणको मापदण्ड उल्लंघन गरिएको भन्दै ब्राजिलका स्वास्थ्य अधिकारीहरू मैदान प्रवेश गरेपछि खेल स्थगित भएको थियो ।

इंग्लिस प्रिमियर लिग खेलिरहेका तीन अर्जेन्टिनी खेलाडी सो खेलका लागि ब्राजिल पुगे पनि क्वारेन्टिन अवधि पूरा नगरेका ब्राजिलका स्वास्थ्य अधिकारीहरूको दाबी थियो । इमिलियानो मार्टिनेज, क्रिस्टियन रोमेरो र जियोभानी लो सेल्सोसहित इमी ब्युन्डाईले बेलायतबाट ब्राजिल प्रवेश गर्ने क्रममा अध्यागामनमा झुटो कागजात बुझाएको आरोप छ ।

फिफाले यस विषयको छानबिनका लागि कमिटी गठन गरेको थियो । सो कमिटीले पाँच महिनापछि प्रतिवेदन बुझाएको हो । फिफाले मार्टिनेज, रोमेरो, लो सेल्सो र ब्युन्डाईमाथि दुई खेलको प्रतिबन्ध लगाएको छ । फिफाले सान पाउलोमा नै सो खेल पुनः खेलाइने जनाए पनि मिति भने तय गरेको छैन ।

ब्राजिल र अर्जेन्टिनाले यसअघि नै कतार विश्वकपमा स्थान सुरक्षित गरिसकेका छन् । दुवै टोलीले योसहित अब छनोटका समान चार खेल खेल्न बाँकी छ । ब्राजिल ३९ अंकसहित शीर्ष स्थानमा छ भने अर्जेन्टिना ३५ अंकसहित दोस्रो स्थानमा छ । इक्वेडर, उरुग्वे र पेरु छनोट नजिक छन् । File Photo



प्रतिक्रिया दिनुहोस्