Logo

स्वास्थ्यमन्त्री खतिवडालाई बर्खास्त गर्न एमालेको माग(विज्ञप्तिसहित)



काठमाडौँ, ३ फागुन। नेकपा (एमाले)ले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको राजीनामा मागेको छ । एमालेको स्वास्थ्य तथा जनसंख्या विभागका प्रमुख योगेश भट्टराईले आज (मंगलबार) विज्ञप्ति जारी गर्दै खतिवडालाई बर्खास्त गर्न प्रधानमन्त्रीको ध्यानकर्षण गराएका हुन् ।

मन्त्री खतिवडाले २४ लाख खोप ‘हराएको’ ढाकछोप गर्न खोजेको र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारले ल्याएको खोप आफूहरूले किनेर ल्याएको भन्ने अभिव्यक्ति दिएको भन्दै एमालेले आपत्ति जनाएको हो ।

“आमजनता कोभिड–१९ बाट आक्रान्त भइरहेको बेलामा मन्त्रीले दिएको उक्त अभिव्यक्तिको हामी निन्दा र भर्त्सना गर्दछौँ । यति झुट बोल्ने व्यक्ति नैतिक रूपमा मन्त्री पदमा बसिरहन अनुचित हुने भएकाले तत्काल राजीनामा गर्न हाम्रो पार्टी माग गर्दछ । साथै, आफ्ना मन्त्रीको यस्तो गैरजिम्मेवार अभिव्यक्ति र व्यवहारप्रति संवेदनशील हुँदै उहाँलाई मन्त्री पदबाट बर्खास्त गर्न प्रधानमन्त्रीको गम्भीर ध्यानाकर्षण गराउँछौँ,” विज्ञप्तिमा भनिएको छ ।

स्वास्थ्यमन्त्री खतिवडाले पूर्ववर्ती सरकारलाई बदनाम गर्नकै लागि अफवाह सिर्जना गरेको उनको आरोप छ । “कोभिड–१९ सम्बन्धी विभिन्न समयमा सरकारले जारी गरेका निर्देशिकाहरूले खोपको कालोबजारी, बिक्री–वितरण र दुरुपयोग गर्नुलाई गम्भीर अपराधका रूपमा उल्लेख गरेको छ । मन्त्री खतिवडाले खोप ऐन र कोभिड निर्देशिकामा उल्लेख भएका प्रावधानविपरीत गम्भीर अपराध गर्नुका साथै गलत सूचना सम्पे्रषण गर्ने र अफवाह सिर्जना गर्ने काम गरेर कोरोनाजस्तो संवेदनशील विषयमा अत्यन्तै गैरजिम्मेवार व्यवहार प्रदर्शन गर्नुभएको छ,” विज्ञप्तिमा भनिएको छ ।



प्रतिक्रिया दिनुहोस्