Logo

उल्टो चक्रमा विकासको गति



काठमाडौं, फागुन ४ । पूर्वाधार विकासमा प्रगति बढ्दो क्रममा हुन्छ तर सात वर्षदेखि निर्माणाधीन एक आयोजनामा विकासको सूचक उल्टो देखिएको छ । राजधानीसँग जोडिएको एउटा परियोजना नै विकासको उल्टो घडीमा घुम्दैछ ।

सातौँ पटक म्याद थप गरिए पनि कुल १७.०१ किलोमिटर लम्बाइ रहेको सो सडकको विस्तार कार्य सम्पन्न हुन सकेको छैन । बरु सम्झौता भएको आठ वर्ष बित्न लाग्दा पनि निर्माण कार्य सम्पन्न हुन नसकेको पासाङल्हामु राजमार्गअन्तर्गत बालाजु–त्रिशूली–छहरे–विदुर सडकखण्ड विस्तारमा विकासको उल्टो गति पाइएको छ ।

सो सडकखण्डमा पचास प्रतिशत पुगेको भौतिक प्रगति अहिले चालीस प्रतिशतमा झरेको छ । बालाजु–त्रिशूली–छहरे विदुर सडक विस्तार योजनाका प्रमुख गौतम श्रेष्ठका अनुसार लामो समयसम्म काम नहुँदा यसअघि तयार भएका संरचना पनि भत्किँदै बिग्रिँदै जाँदा भौतिक प्रगति घटेको हो ।

सो सडक विस्तारका लागि दुई वर्षभित्र काम सम्पन्न गर्ने गरी सडक विभागअन्तर्गतको सडक सुधार तथा विकास आयोजनासँग नेपालको शैलुङ निर्माण कम्पनी तथा भारतको अरावली इन्फा पावर प्रालि (जेभी)सँग २०७१ जेठ ५ गते नै ठेक्का सम्झौता भएको थियो ।

सुरुको सम्झौता रकम ३१ करोड चार लाख ६४ हजार रुपियाँ रहेकामा अहिले सो रकम ३४ करोड ९४ लाख रुपैयाँ पुगेको छ । उनका अनुसार यस वर्षको असारदेखि यस सडकमा निर्माण कम्पनी देखिएका छैनन् ।

अहिले ‘सिङ्गल लेन’ रहेको सो सडकखण्डलाई ‘डबल लेन’ मा विस्तार गर्न ठेक्का सम्झौता भएको हो । सो सडकखण्ड विस्तारका लागि सातौँ पटक म्याद थप गरिए पनि निर्माण कार्य आधा पनि सम्पन्न हुनसकेको छैन । पछिल्लो पटक यसै वर्षको चैत मसान्तसम्मका लागि म्याद थप गरिएको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot