Logo

कामु सचिवको भरमा मानव अधिकार आयोग



काठमाडौं, फागुन ५ । राष्ट्रिय मानव अधिकार आयोग नौ महिनादेखि कायममुकायम (कामु) सचिवका भरमा चलिरहेको छ । पछिल्लो समय आयोगमा सहसचिव मुरारी खरेल गत जेठ १६ देखि कामु सचिवको जिम्मेवारीमा रहेका छन् ।

आयोगमा हाल छ जना सहसचिव कार्यरत छन् । पछिल्लो समय आयोगमा कायम मुकायम सचिवको जिम्मेवारीमा रहका मुरारी खरेल, डा टीकाराम पोखरेल, यज्ञ अधिकारी र दीपकजङ्गध्वज कार्की सचिवका सम्भावित उम्मेदवार रहेका छन् । उनीहरू सबै चार वर्षअघि एकै दिन उपसचिवबाट सहसचिवमा बढुवा भएका थिए ।

सहसचिवमा पाँच वर्ष पूरा भएपछि मात्रै वरिष्ठ सहसचिवलाई सचिवमा नियुक्तिका लागि सिफारिस गर्नसक्ने कानुनी व्यवस्था छ । सोही व्यवस्थाका कारण सचिव नियुक्तिका लागि प्रक्रिया अघि बढाउन नसकिएको आयोगले जनाएको छ ।

आयोग ऐनको दफा २८ को उपदफा छ अनुसार सचिव पद रिक्त रहेमा सोही कार्यालयमा कार्यरत वरिष्ठ सहसचिवमध्ये एकलाई कामु सचिवको जिम्मेवारी दिन सकिनेछ तर कामुको जिम्मेवारी कति दिनका लागि दिन सकिने भन्ने किटान आयोग ऐनमा छैन ।

निजामती सेवा ऐन, २०४९ को दफा १३ को उपदफा १ ले भने कुनै विभाग वा कार्यालयमा प्रमुखको पद रिक्त रहेमा एक श्रेणी तलको निजामती कर्मचारीलाई बढीमा छ महिना मात्रै कायम मुकायमको जिम्मेवारी दिन सकिने व्यवस्था गरेको छ । खरेललाई कामुको जिम्मेवारी दिइएको नौ महिना बितिसकेको छ ।

हाल अस्तित्वमा रहेका १३ वटा संवैधानिक आयोगमध्ये १२ वटा आयोगमा नेपाल सरकारले सचिव नियुक्ति गर्छ । मानव अधिकार आयोगलले भने आफैँले सचिव नियुक्तिका लागि सरकारलाई सिफारिस गर्नसक्ने व्यवस्था आयोग ऐनको दफा २८ को उपदफा २ मा छ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot