Logo

कान्तिभैरव माविमा प्रमाणपत्रको मनपरी शुल्क



काठमाडौँ, ५ फागुन: कागेश्वरी मनोहरा नगरपालिका–५ स्थित कान्तिभैरव माध्यमिक विद्यालयले प्रमाणपत्र र चारित्रिक प्रमाण पत्रको मनपरी शुल्क उठाएको भन्दै विद्यार्थीले आपत्ति जनाएका छन् ।

दश जोड दुई उत्तीर्ण गरेका विद्यार्थीसँग विद्यालयले प्रमाणपत्रको रु एक हजार ५०० र चारित्रिक प्रमाणपत्रको रु चार हजार असुल्ने गरेको विद्यार्थीको आरोप छ । छात्रा नीरा राईले शुल्क तिर्दा विद्यालयले बिलसमेत नदिएको गुनासो गरे । विद्यालयका लेखापाल दीपेन्द्र सिम्खडा भने प्रमाणपत्रको राष्ट्रिय परीक्षा बोर्डमा रु एक हजार १०० बुझाउनुपर्ने र भाडाबापत रु ४०० बढी लिएको बताए । चारित्रिक प्रमाणपत्रको भने विद्यालय व्यवस्थापन समितिले नै रु चार हजार लिने निर्णय गरेको उनको दाबी छ । सामुदायिक विद्यालयमा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क भनिए पनि विद्यालयले मनपरी शुल्क असुल्ने गरेका छन् ।

विद्यालयका प्रधानाध्यापक तीर्थराज कोइरालाले ११ र १२ कक्षा चलाउन शिक्षक कोटा एवं स्रोत नभएकाले विद्यार्थीसँग बढी शुल्क लिनुपरेको बताए । स्थानीय तह सञ्चालन ऐन, २०७४ ले माध्यमिक तहसम्मको शिक्षाको व्यवस्थापनको अधिकार स्थानीय सरकारलाई नै दिएको छ । विसं २०७४ देखि ११ र १२ कक्षा सुरु गरेको विद्यालयलाई प्रत्येक वर्ष रु तीन लाख घाटा भएको उनको भनाइ छ । नगरपालिकाले ११ र १२ कक्षा चलाउन जोड गरे पनि सहयोग भने नगरेको विद्यालयले जनाएको छ ।

नगरपालिकाका प्रवक्ता राजाराम पुडासैनीले विद्यालयलाई सहयोग गर्दैआएको बताए । प्रमाणपत्रको शुल्क नगरपालिकाभित्रका विद्यालय कसैले रु ५०० र कोहीले रु पाँच हजार ५०० भन्दा बढी लिने गरेको उनले सुनाए । शुल्क तिर्न नसक्ने विद्यार्थीलाई निवेदनका आधारमा नगरपालिकाले सहुलियत दिँदै आएको छ । विद्यालयले ११ र १२ कक्षामा रु १६ हजार शुल्क लिएर पढाउने गरेको जनाएको छ । उक्त विद्यालयमा ११ र १२ कक्षामा शिक्षाशास्त्र तथा व्यवस्थापन सङ्कालय सञ्चालनमा छ ।

नगरपालिकाका शिक्षा शाखाका कार्यवाहक प्रमुख विमलप्रसाद निरौला माध्यमिक तहसम्मको शिक्षा निःशुल्क भएकाले शुल्क लिन नपाइने बताए । कान्तिभैरवमा प्रमाणपत्र र चारित्रिक प्रमाणपत्रकै शुल्क लिएका सन्दर्भमा जिज्ञासा राख्दा उनले अनुगमन गरेर निर्देशन दिने बताए । विगतमा पनि यस्ता गुनासा आउने गरेको शिक्षा शाखाले जनाएको छ ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्