Logo

बालाजुमा पैदलयात्रीलाई ठक्कर दिई भाग्ने बसचालक पक्राउ



काठमाडौँ, ६ फागुन। काठमाडौं महानगरपालिका–१६ बालाजु गंगाहल नजिक सडकमा हिजो (बिहीबार) बिहान दुई जना पैदलयात्रीलाई ठक्कर दिई भाग्ने बसका चालकलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई आज (शुक्रबार) बिहान प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा धादिङ सिद्धलेख गाउँपालिका–४ घर भएका २९ वर्षीय प्रदिप थपलिया छन् ।

ठक्करबाट गम्भीर घाइते भएका काठमाडौं तारकेश्वर नगरपालिका–१० मनमैजु बस्ने १८ वर्षीय बिकाश तामाङ र काठमाडौं महानगरपालिका–१६ जागृती टोल बस्ने ५५ वर्षीया दुर्गा माया थापाको मृत्यु भएको थियो । उनीहरुको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको थियो । दुर्घटना गरी फरार रहेको सवारी साधन र चालकलाई जिल्ला प्रहरी कार्यालय धादिङको सहयोगमा धादिङबेशीबाट पक्राउ गरिएको हो ।

बागमती प्रदेश ०१–००५ ख ९३१४ नम्बरको धादिङ–काठमाडौं रुटमा चल्ने बससहित चालकलाई पक्राउ गरी महानगरीय प्रहरी वृत्त बालाजुमा ल्याइएको प्रहरीले जनाएको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्