Logo

कोहलपुरमा दस तले दर्शनटुप्पो



नेपालगञ्ज, फागुन ७ । पश्चिम नेपालको मुख्य ट्रान्जिटका रूपमा रहेको कोहलपुरमा काठमाडौको धरहराको झल्को दिने गरी दस तले भ्युटावर (दर्शनटुप्पो)को निर्माण तीव्र गतिमा भइरहेको छ ।

कोहलपुर नगरपालिका–११ गोलपार्कमा निर्माणाधीन लिफ्टसहितको सुविधा सम्पन्न सो दर्शनटुप्पोको निर्माण कार्य ७२ प्रतिशत सम्पन्न भइसकेको र बाँकी काम पनि जारी रहेको कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले बताए।

समग्र पश्चिम नेपाल मात्र नभई भारतीय नागरिकलाई समेत आकर्षित गर्नेगरी नगरपालिकाको गौरवको योजनामा पारेर सो अत्याधुनिक दर्शनटुप्पोको निर्माण कार्य भइरहेको उनले बताए ।

दस तलाको उचाइसहित निर्माण भएको दर्शनटुप्पोमा समयको जानकारी गराउने उद्देश्यले ठूलो घडी राखिने बताउँदै रावतले लिफ्टबाट माथि जान सकिने र दर्शनटुप्पोबाट कोहलपुरको चारैतिरको रमणीय दृश्यावलोकन गर्न सकिने जनाए ।

अधिकांश निर्माण पूरा भइसकेको र लिफ्ट जडानसहित रङरोगन र सजावटको काम मात्र हुन बाँकी रहेको निर्माण कम्पनीले जनाएको छ । पाँच करोड ८८ लाख रुपियाँको लागतमा अत्याधुनिक दर्शनटुप्पो निर्माण भइरहेको कोहलपुर नगरपालिकाले जनाएको छ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्