Logo

टुट्नै लागेको सत्ता गठबन्धन यसरी जोगियो



काठमाडौं, ७ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवा कुनै हालतमा एमसीसी अगाडि बढाउने पक्षमा छन् । उनले ५ फागुनमा सत्ता गठबन्धनका शिर्ष नेताहरु प्रचण्ड, माधवकुमार नेपाल र उपेन्द्र यादवलाई राखेर एमसीसीबारे के गर्ने भनेर सोधे । कम्तिमा संसदमा टेबल गर्नेसम्ममा सहमत हुन भने । प्रचण्ड सभामुख अग्निप्रसाद सापकोटाले समेत आफूले भनेको नमान्ने बताइरहेका थिए । माधव नेपाल पनि यथास्थितिमा एमसीसी पारित गर्न सकिदैन भनिरहेका थिए । उपेन्द्र यादव समेत यही लाइनमा देखिन थाले । देउवा चिढिए ।

साँझ सत्ता गठबन्धनको बैठक सकिएलगत्तै उनी पत्नी आरजु देउवालाई लिएर बालकोट पुगे । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरे । ओलीले केही सर्तहरु राखे । देउवा कतिपयमा सहमत भए । विशेषगरी गठबन्धन पहिले टुटाउनुपर्ने र सभामुख अग्निप्रसाद सापकोटालाई हटाउनुपर्ने सर्त थियो । त्यसपछि पार्टीमा छलफल गरेर निर्णय गर्ने कुरा गरे । एमसीसीबारे ओली स्पष्ट भएनन् । देउवा बालुवाटार फर्किनका लागि हिंडे ।

देउवा हिंडेको केही मिनेटमा ओलीले पुनः फोन गरेर डाके । देउवाको गाडी फेरि मोडियो । उनी बालकोट फर्किए । ओलीले केही सर्त राखे । एमसीसी पारित गर्न साथ दिने भन्दै राजनीतिक लेनदेनको कुरा गरे । केन्द्र देखि प्रदेश सम्म सरकार गठनको कुरा निकाले । विभिन्न प्रदेशमा एमाले नेतृत्वको सरकार गठनमा साथ दिन प्रस्ताव गरे । जसमा प्रदेश १, बागमती, लुम्बिनी, सुदूरपश्चिम थिए । केन्द्रमा पनि आलोपालो प्रधानमन्त्रीको सर्त राखे । चुनावमा आफू प्रधानमन्त्री बन्न साथ दिनुपर्ने विषय उठाए ।

देउवा ओलीको सर्त मान्न तयार भएनन् । उनले छलफल गर्छु मात्र भनेर फर्किए । भोलिपल्ट सत्ता गठबन्धनको बैठक बस्यो । देउवा जसरी पनि एमसीसी अगाडि बढाउने मुडमा पुगिसकेका थिए । उनले कम्तिमा एमसीसी टेबल गर्न र मतदानको निर्णय जे हुन्छ हुन्छ भन्नेमा पुगे । प्रचण्ड टेबल गर्ने पक्षमा पनि सकारात्मक थिएनन् । माधव नेपालले लचिलो बन्ने गरी टेबलको पक्ष लिए । उपेन्द्र यादवको लाइन पनि त्यही भयो ।

८ फागुनमा एमसीसी टेबल गर्ने गरी सहमति गरे नेताहरुले । जसका कारण सत्ता गठबन्धन टुट्नबाट जोगियो । देउवा एमसीसी टेबल पनि गर्न नमान्ने प्रचण्डको अडान रहेको भए गठबन्धन तोडेर ओलीसँग भद्र सहमति बनाउने गरी बढिसकेका थिए । तर, एमसीसी टेबल गर्ने सहमतिले गठबन्धनको दुर्घटना टरेको थियो ।-File Photo



प्रतिक्रिया दिनुहोस्