Logo

गठबन्धन जोगाउन माधव नेपालको यू टर्न



काठमाडौं, ७ फागुन । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धन जोगाउन रणनीतिक चार्तुयता देखाएका छन् । उनले ६ फागुनको सत्ता गठबन्धनको बैठकमा एमसीसी टेबल गर्ने सहमति बनाउन भूमिका खेलेका थिए । यही अनुसार आज पार्टी बैठक डाकेर एमसीसी टेबल गर्न दिने निर्णय नै गराउन सके ।

नेकपा एसका नेता झलनाथ खनाल एमसीसी टेबल नै गर्न दिन नहुने पक्षमा थिए । उनले सार्वजनिक रुपमै एमसीसी टेबल गरेमा दुर्घटना हुनसक्ने बोलेका थिए । तर, पार्टी बैठकमा उनको केही चलेन । अन्ततः एमसीसी टेबल गर्न नेकपा एस तयार भएको छ ।

माधव नेपालले एमसीसी टेबल गर्ने पक्ष लिएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि लचिलो भइसकेको बुझिएको छ । प्रचण्डले पनि एमसीसी टेबल गर्न अवरोध नगर्ने भइसकेका छन् ।

सम्भवतः ८ फागुनको प्रतिनिधि सभा बैठकमा एमसीसी टेबल हुनेछ । माधव नेपाल एमसीसी टेबल नै हुन नदिने निर्णयबाट यू टर्न भएपछि सत्ता गठबन्धन तत्काललाई जोगिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी टेबल गर्न नदिए कठोर कदम चाल्ने तयारी गरिसकेका थिए । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग राजनीतिक लेनदेनको कुरा गरिसकेका थिए ।

ओलीले ठूलै सर्त राखेपछि देउवा गठबन्धन नै जोगाएर जाने पक्षमा उभिएर सहमति निकाल्न लचिलो भएका थिए । सहमति अनुसार अब एमसीसी टेबल भई छलफल हुनेछ । त्यस क्रममा एमसीसी पारित गर्ने या नगर्नेबारे निर्णय हुनसक्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot