Logo

एमालेले अवरोध कायमै राख्ने



काठमाडौं, फागुन ९ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले संसद्मा अवरोध कायमै राख्ने भएको छ। एमालेले माधव नेपालसहित १४ सांसदलाई कारबाही वा सभामुख अग्नि सापकोटाको बहिर्गमनको माग कार्यान्वयन हुनुपर्ने भन्दै संसद् बैठकमा अवरोध जारी राखेको छ।

संसद्मा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को प्रस्ताव छलफलका लागि पेस हुँदा पनि एमालेले अवरोध जारी राख्यो। ‘हामी प्रतिपक्षमा छौं, आन्दोलनमा छौं। हामीले उठाएका कुरामा संवाद भएको छैन। सरकार र सभामुख पनि गम्भीर छैनन्। भनेपछि संसद् अवरोध कायमै छ भनेर बुझ्नुस्’, एमालेका एक पदाधिकारीले भने। उनका अनुसार यही अवस्थामा एमालेले संसद्को अवरोध हटाउँदैन।

एमालेका सांसदले अध्यक्ष केपी शर्मा ओलीलाई एमसिसी नबोक्न आग्रह गरेपछि यस विषयमा अहिलेसम्म सो दल मौन छ। एमालेले गठबन्धन दलहरूभित्रै बहुमत रहेका कारण एमसिसी पास गर्न आफ्नो आवश्यकता नभएको बताउँदै आएको छ।

एमसिसीको विषय गठबन्धनतिरै फर्काएर संसद् अवरोधलाई कायमै राख्ने नीति एमालेले लिएको छ। एमाले उपाध्यक्ष युवराज ज्ञवालीले पार्टीले निष्कासन गरेका सांसदमाथिको कारबाहीलाई मान्यता दिनुपर्ने वा सभामुखले राजीनामा दिनुपर्ने माग सरकारले कार्यान्वयन नगरेकाले अवरोध कायम रहने बताए।

‘अवरोध जारी राख्ने हाम्रो दृष्टिकोणमा कुनै परिवर्तन नआएको एमसिसीबारेमा औपचारिक निर्णय केही नभएको तर हाम्रो अडान कायमै रहेको एमालेले जनाएको छ । नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्