Logo

पोल गाडेको १५ वर्षसम्म पनि बलेन बिजुली



–मिमबहादुर रावल मान्म, १० फागुन: कालीकोटको नरहरिनाथ गाउँपालिकामा विद्युत्का पोल गाडिएर तार झुण्ड्याएको १५ वर्ष भयो । तर अहिलेसम्म बिजुली बल्न सकेको छैन ।

नरहरिनाथ गाउँपालिकाका लालु, माल्कोट, कोटबाडा, रुप्सा र कुमालगाउँमा साबिकका गाउँ विकास समितिले विद्युत्का पोल र तार गाडेको १५ वर्ष बित्दा पनि बिजुली बल्न नसकेको हो । “गाडेका पोलमा तार झुण्ड्याइएको छ, तर बत्ती बलेको छैन्”, स्थानीय भन्छन्, “अहिलेसम्म पोल र तार हेरेरै बत्ती बल्ने सपना देखिरहेका छौं ।”

हचुवाका भरमा विगतमा साबिकका गाविसहरुले विकास अनुदानको बजेट र कर्णाली रोजगार कार्यक्रमको बजेटबाट ती पोल र तारहरु गाडिएका हुन् । पोल गाडिएको वर्र्षौं भइसक्दा पनि त्यहाँ कुनै लघु जलविद्युत् आयोजना पनि बनेका छैनन् । न कतैबाट विद्युत् ल्याउन तयारी भएको छ । विगत १५ वर्षअगाडि गाडिएका ती पोल र झुण्ड्याइएका तारमा अहिले विद्युत् प्रवाह नभइकनै खिया लागेर करोडौँको नोक्सान भएको बताइएको छ ।

साबिकका गाविस र कर्णाली रोजगार कार्यक्रमको बजेटबाट खरिद भएका कैयौँ पोलहरु लालीघाट र जितेबजारमा अलपत्र अवस्थामा रहेको नरहरिनाथ गाउँपालिका–९ का शिक्षक नवराज शाहीले बताउनुभयो । “गाविस र कर्णाली रोजगारको पैसा दुरुपयोग गर्न मात्र बिजुलीका पोल खरिद गर्ने निर्णय गरिएको छ”, उहाँले भन्नुभयो, “विद्युत्को आयोजना नै नभएको ठाउँमा किन पोल र तार चाहियो ।” पोल र तारमा साबिकको लालु गाविसले आव २०६७÷६८ मा कर्णाली रोजगार कार्यक्रमबाट रु ४५ लाख र गाविसको रु २७ लाख खर्च गरेको छ भने माल्कोट गाविसले पनि लाखौँ खर्च गरेको छ जनाइएको छ । त्यस्तै कुमालगाउँ गाविसले आव २०७०÷७१ को विकासे अनुदानबाट रु २५ लाख खर्च गरेर पोल खरिद गरिएको नेकपा (माओवादी केन्द्र) नरहरिनाथ गाउँपालिकाका अध्यक्ष अग्रबहादुर विष्टले बताउनुभयो ।

विद्युत् आयोजनाको पूर्वाधार निर्माण नगरी गाउँमा पोल र तार कतै गाडिनु, त पोल र तार अलपत्र अवस्थामा छोड्नुका मुख्य कारण आर्थिक सहायता दुरुपयोग गर्नु नै रहेको नरहरिनाथ गाउँपालिका–९ लालुस्थित जनप्रभात माविका प्र्रधानाध्यपक निर्मलकुमार विष्टले जानकारी दिनुभयो । “विद्युत्का पोल र तारका नाममा आर्थिक सहायता दुरुपयोग गर्ने एउटा उद्देश्य देखिन्छ”, उहाँले भन्नुभयो, “न विद्युत आयोजना छ । न कतैबाट विद्युत् ल्याउने तयारी छ । हचुवाका भरमा विद्युत्का पोल गाडिनुमा मुख्य कारण नै अनियमितता गर्नु हो ।”

करोडौँ रकम खर्च गरेर गाडिएका बिजुलीका पोल र तार अहिले अलपत्र अवस्थामा छन् । गाडिएका विद्युत्का पोल र झुण्ड्याइएका तारमा कति खर्च भयो भन्ने प्रमाण कुनै निकायसँग पनि छैन । अहिले राष्ट्रिय प्रसारण लाइनबाट बिजुली लैजाने तयारी भइरहेको नरहरिनाथ गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका सबै क्षेत्रमा बिजुलीका पोल गाडिएको र राष्ट्रिय प्रसारण लाइनबाट बिजुली लैजाने तयारी थालिएको बताइएको छ ।

विगतमा कालीकोटमा राष्ट्रिय प्रसारण लाइन नहुँदा समस्या भएको र अहिले राष्ट्रिय प्रसारण लाइन जोडिएका कारणले त्यहाँबाट बिजुली लैजाने तयारी भएको गाउँपालिकाका अध्यक्ष धीरबहादुर विष्टले जानकारी दिनुभयो ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्