Logo

यो गठबन्धनको अब औचित्य रहेन, साँझ ७ बजे एमालेसँग निर्णायक छलफल हुन्छ : गगन थापा



काठमाडौं, १२ फागुन । नेपाली कांग्रेस र नेकपा (एमाले) का नेताहरुबीच भएको छलफल सकिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र कांग्रेस महामन्त्री गगनकुमार थापा कांग्रेसबाट उक्त छलफलमा सहभागी थिए भने एमालेबाट अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष सुवास नेम्वाङ सहभागी थिए । आजको छलफल सकारात्मक भएको नेताहरुको प्रतिक्रिया छ ।

भेटवार्तामा सहभागी कांग्रेस महामन्त्री गगन थापाले आजको छलफल एमसीसी पास गराउनेबारे केन्द्रित रहेको सुनाए । प्रधानमन्त्री देउवाले एमसीसी पास गराउनको लागि एमालेले भूमिका खेल्नुपर्यो भनेको पनि उनले सुनाए । जवाफमा एमाले अध्यक्ष ओलीले सदनमा आफूहरुलाई भाग लिने वातावरण मिलाउन आग्रह गरेका थिए । एमालेले सभामुख अग्निप्रसाद सापकोटाको राजीनामाको विषय उठाएको थियो । जसमा कांग्रेस नेताहरुले सहमति जनाएको बुझिएको छ ।

महामन्त्री थापाले पनि सभामुख हटाउनेबारे एमालेसँग कांग्रेसको सहमति हुनेतर्फ संकेत गरे । उनले सदनको अवरोध हटाउनको लागि पहल गरिने बताएका हुन् । प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच आजै साँझ ७ बजे निर्णायक छलफल हुने पनि थापाले जनाए । उक्त छलफलमा सहमति हुने विश्वास लिईएको छ । अहिले एमाले अध्यक्ष ओली बानेश्वरमै आफ्ना पार्टीका प्रभावशाली नेताहरुसँगको आन्तरिक परामर्शमा छन् । साँझ ७ बजे बालुवाटार जानुपुर्व पार्टीको तर्फबाट सहमतिको खाका बनाएर जाने बुझिएको छ । छलफलमा विष्णु पौडेल, गोकुल बाँस्कोटादेखि महेश बस्नेतसम्म सहभागी भएको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot