Logo

सङ्ग्रहालयको टहरोमा गिद्धे प्रेस



काठमाडौं, फागुन १४ । नेपालमा भित्रिएको पहिलो छापाखाना ‘गिद्धे प्रेस’ राष्ट्रिय सङ्ग्रहालयको टहरोमा थन्किएको छ । त्यसका अङ्ग खुस्किएका छन् । केही भाग सङ्ग्रहालय परिसरमा छरिएका छन् । निकै गह्रौँ भएकाले छरिएका भागलाई बोकेर टहरोसम्म लैजान कठिन बनेको छ ।

सङ्ग्रहालय प्रमुख जयराम श्रेष्ठले प्रेसका हरेक अङ्ग निकै गह्रौँ भएकाले सङ्ग्रहालयका जनशक्तिबाट जोड्ने प्रयास सम्भव नभएको बताउँदै भने, “त्यसलाई जोड्ने विधि पनि चाहिन्छ । जोड्न जान्ने मानिस पनि छैनन् । त्यसैले त्यत्तिकै थन्किएर रहेको छ ।”

विसं १९०७ मा बेलायत भ्रमणबाट स्वदेश भित्रिएका तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले आफूसाथ छापाखाना ल्याएका थिए । छापाखाना १९०८ सालमा नेपाल आइपुगेको थियो । त्यस प्रेसको सिरानमा गिद्धको आकृति भएकाले त्यसलाई ‘गिद्धे प्रेस’ भन्न थालियो । प्रधानमन्त्री जङ्गबहादुरकै पालामा गिद्धे प्रेसले मुलुकी ऐन पनि छापेको थियो । गिद्धे प्रेसलाई सुरुमा थापाथली दरबारमा जडान गरिएको थियो ।

गिद्धे प्रेसले गोरखापत्र पनि छापेको थियो भन्ने कुरा २०१५ सालकोे प्रेस कमिसनको रिपोर्टमा उल्लिखित अनुच्छेदबाट प्रस्ट हुन्छ, “जङ्गबहादुरका समयमा सम्पत्तिको नाउँमा एउटा गिद्धे प्रेसबाट प्रारम्भ गरिएको गोरखापत्र छापाखानामा आज पलाट, हाते तथा प्लाटेनसमेत एक दर्जन प्रेसहरू, एउटा सानो ब्लक विभाग तथा थोरबहुत प्रेससम्बन्धी मालहरू छन् ।”

प्रेस कमिसनले गोरखापत्र छापाखानामा भएका पुराना मेसिनमध्ये गिद्धे प्रेसलाई म्युजियममा राखी अरू पुराना प्रेसलाई लिलाम गर्नुपर्ने सिफारिस गरेको थियो । कुनै बेला गोरखापत्रको सम्पत्तिका रूपमा रहेको गिद्धे प्रेसलाई कुन सालमा राष्ट्रिय सङ्ग्रहालयमा पु(याइयो भन्ने जानकारी प्राप्त हुनसकेको छैन । सङ्ग्रहालयमा तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरका पालाका चार, पाँच बोरा घडीका सामान त्यत्तिकै थन्किएका थिए ।

बेलायतबाट ल्याइएका ती घडीलाई दुई महिनाभन्दा बढी समय लगाएर जोडिएर सग्लो बनाइएको छ । तर गिद्धे प्रेसका सबै पार्टपुर्जा छैनन् । कुनै कुनै पार्टपुर्जा ८, १० जनाले पनि बोक्न सक्दैनन् । गोरखापत्र दैनिकबाट/ file photo



प्रतिक्रिया दिनुहोस्