Logo

एमसीसी अनुमोदन गराउन प्रचण्ड लचक



काठमाडौं, १४ फागुन । एमसीसी अनुमोदन गराउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लचिलो भएका छन् । उनले सदनबाट एमसीसी अनुमोदन गराउन लचकता देखाउन थालेको बुझिएको छ ।

विश्वस्त स्रोतका अनुसार प्रचण्डले १३ फागुनमा बामदेव गौतमसँगको भेटमा एमसीसीलाई निकास दिएर गठबन्धन जोगाउने उपायबारे छलफल गरेका छन् । एमसीसीमा सकेसम्म संशोधन गर्न लगाउने नभए देशहितविरुद्ध नहुने सुनिश्चितताका लागि सदनमा संकल्प प्रस्ताव पारित गरेर निकास दिने उपायबारे छलफल गरेका छन् ।

प्रचण्डले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसँग पनि एमसीसीबारे लचिलो हुने उपायबारे छलफल गरेका छन् । नेता नेपाल एमसीसी अनुमोदन गर्न लचिलो भएको र देशहितविरुद्ध नजाने सुनिश्चितताका लागि संकल्प प्रस्तावमा जान सकिनेबारे छलफल गर्न थालेको बुझिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी पारित गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग नजिकिन थालेपछि प्रचण्ड सतर्क भएका छन् । १३ फागुनमा प्रचण्डले देउवालाई भेटेर एमसीसीलाई निकास दिनेबारे छलफल गरेका छन् । त्यसअघि माधव नेपालले भेटेर देउवालाई ओलीसँग नमिल्न र गठबन्धन जोगाउन जोड दिएका थिए ।

एमसीसी अनुमोदन गर्न तयार नभए देउवा ओलीसँग मिल्ने निश्चितप्रायः भएको छ । यसकारण पनि प्रचण्डमाथि चुनौती बढेको छ । अब एमसीसीलाई अनुमोदन हुने गरी निकास दिने या गठबन्धन तोड्नेबाहेकको विकल्प प्रचण्डसँग छैन ।

प्रचण्डले गठबन्धन तोडिए सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध हटाउने प्रस्ताव आउने, माधव नेपालसहित १४ सांसदको पद जानसक्ने, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोगबाट काँग्रेस फिर्ता भई अर्को चुनौतीको सामना गर्नुपर्ने देखिसकेका छन् । यसकारण उनी एमसीसी अनुमोदनको वातावरण बनाउने गरी रणनीतिक तरिकाले बढेका छन् ।

सदनमा उपस्थित संख्याका आधारमा बहुमत बनाउन वातावरण बनाउनेबारे पनि प्रचण्ड अगाडि बढेको बुझिएको छ । माओवादी र नेकपा एसले अनुपस्थित जनाएर उपस्थित संख्याबाट बहुमतमा एमसीसी अनुमोदन गर्नेबारे समेत रणनीतिक तयारी प्रचण्डले गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot