Logo

ओलीले चार न्यायधीशमाथि आक्रोश पोख्दै गरे महाभियोग ल्याउने संकेत



काठमाडौं, १४ फागुन । ७१औं जन्मदिनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतका चार न्यायाधीशहरुमाथि आक्रोश पोखे । उनले एमाले सिध्याउन लागेको भन्दै कायममुकायम प्रधानन्यायाधीश दिपक कार्की र न्यायाधीशहरु मीरा खड्का, इश्वरी खतिवडा र आनन्दमोहन भट्टराईविरुद्ध आक्रोश पोखेका थिए ।

ओलीले आज पनि चार न्यायाधीशहरुप्रति आक्रोश पोखे । एमाले सम्वद्ध प्रगतिशिल कानून व्यवसायी संगठन पीपीएलको दोस्रो राष्ट्रिय सम्मेलनमा सम्बोधन गर्दै ओलीले केही न्यायाधीशहरुको नामै लिएर आक्रोश पोखे ।

अमेरिकाबाट न्यायाधीश ईश्वरप्रसाद खतिवडाले फूल बेन्चलाई पठाएको इमेलले नै संविधान बाहिर गएर फैसला गरेको पुष्टि गरिसकेको तर्क गरे ।

यसको उद्देश्य एमाले र आफूलाई सिध्याउने रहेको ओलीको आरोप थियो । ओलीले भने, अमेरिकाबाट पठाएको इमेल पढेकाहरु त यहाँ छैनन् होला र राम्ररी जानकारी राख्नेहरु त छन् । एमाले नढाली नहुने थियो, केपी ओलीलाई नहटाई नहुने थियो । संविधानले हटाउन दिन्नथियो ।

न्यायधीशले घरबाटै फैसला लेखेर लैजानुभएको थियो । फैसला पूर्व निर्धारित थियो । इमेलले भन्छ त्यो फैसला पूर्वनिर्धारित थियो ।

ओलीले सेटिङमा २८ असार २०७८ मा परमादेशबाट शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने फैसला आएको टिप्पणी गरे । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले एमालेलाई सहयोग गरेको भनेर महाभियोग लगाउनेहरुले अरु चारजना न्यायाधीशबारे नबोलेको ओलीको भनाई थियो । उनको स्पष्ट संकेत संवैधानिक इजलाशबाट परमादेश जारी गर्ने अन्य चार न्यायाधीशहरुप्रति थियो ।

ओलीले खाली ६ वटा कागजमा एमालेका सांसदहरुलाई हस्ताक्षर गराएर राखेका छन् । उनले कुनैपनि बेला सर्वोच्चका चार न्यायधीशविरुद्ध महाभियोग लगाउने संकेतहरु गर्दै आएका छन् । पछिल्लो समय चार न्यायाधीशप्रति उनको आक्रोश बढ्दै गएको छ । यसले नेपाली काँग्रेससँग एमसीसीमा समझदारी बनेमा ओलीले चार न्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव ल्याउने सम्भावना बढेको छ ।

तस्बिरः मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्

Screenshot