काठमाडौं, १५ फागुन । नेपाली राजनीतिमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भाग्यमानी नेताको रुपमा चिनिन्छ । संसदीय राजनीतिमा चतुर मानिने देउवाले यसपटक एमसीसीको कारण उत्पन्न राजनीतिक जटिलतालाई पार लगाएका छन् ।
सत्ता गठबन्धनमा आवद्ध दलहरु एमसीसीको कारण विभाजित थिए । सुरुदेखि नै नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले एमसीसी पारित नगर्ने अडान लिए । ती दुई दलले एमसीसी टेबुल गर्नसमेत नदिने अडान लिएका थिए ।
तर, यही बीचमा प्रधानमन्त्री देउवाले एमालेका अध्यक्ष केपी शर्मा ओलीको साथ खोजेपछि भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल दबाब परेका थिए ।
लामो समयको रस्साकस्सीपछि एमसीसी सदनमा टेबुल गर्न दिन माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) दुवैले एमसीसी टेबुल गर्न दिएका थिए । प्रधानमन्त्री देउवा गठबन्धन नटुटोस भन्ने पक्षमा थिए । र, सोहीअनुसार उनले गठबन्धनमा आवद्ध दलका नेताहरुसँग छलफललाई तिव्रता दिएका थिए ।
आफू अलावा उनले आफनो विश्वासपात्रको रुपमा चिनिएका गृहमन्त्रीसमेत रहेका नेता बालकृष्ण खाँणलाई पनि गठबन्धन जोगाउनेगरि सहमतिको प्रयास गर्न सुझाएका थिए । कांग्रेसभित्र जस्तोसुकै संकटलाई पनि समाधान गर्न सक्ने छवि खाँणले बनाएका छन् । यो बीचमा खाँणले प्रचण्ड र माधव नेपाललाई धेरै पटक भेटेका छन् ।
उनी सुरुदेखि नै गठबन्धन जोगाउनुपर्ने पक्षमा उभिँदै आएका छन् । धेरै संघर्ष र मेहनत गरेर पाँच दलीय गठबन्धन बनेको भन्दै यसलाई चुनावसम्म कायम राख्नुपर्ने उनको जोड थियो । एमसीसी संसद्मा टेबुल हुने दिन पनि खाँणले दाहाल र नेपाललाई उनीहरुकै घरमा पुगेर एक्लाएक्लै भेटवार्ता गरेका थिए ।
खाँणले भेटेपछि दाहाल र नेपाल दुवै एमसीसी सदनमा टेबुल गर्न दिन लचक भएको स्रोतको दाबी छ । पार्टीको १४औं महाधिवेशनमा सभापति बनाउन होस वा प्रधानमन्त्री बनाउनको लागि पनि खाँणले देउवालाई ठूलो साथ दिएका छन् ।
खाँण दलको प्रमुख सचेतक पनि हुन् । उनी सबै दलका नेताहरुसँग समन्वयात्मक भूमिका खेल्न सक्छन्। खाँणको सक्रियताकै कारण पाँच दलीय गठबन्धन जोगिएको र एमसीसी पनि पास हुने अवस्था बनेको भनेर अहिले उनको पार्टीभित्र चर्चा भैरहेको छ ।




प्रतिक्रिया