Logo

राष्ट्रिय जनमोर्चा सत्ता गठबन्धनबाट अलग



काठमाडौं, १६ फागुन । राष्ट्रिय जनमोर्चा सत्ता गठबन्धनबाट अलग भएको छ । जनमोर्चाको आज बसेको केन्द्रीय सचिवालय बैठकले गठबन्धनबाट अलग हुने निर्णय गरेको हो ।

बैठकपछि अध्यक्ष चित्रबहादुर केसीले प्रेस विज्ञप्ति जारी गरी एमसीसी संसदबाट षड्यन्त्रमूलक ढंगले पास गरी देशको सार्वभामिकता र अखण्डतामाथि आँच पुर्याएकाले अलग भएको उल्लेख गरेका छन् । केसीले गठबन्धनको औचित्य समाप्त भएको समेत तर्क गरे ।

गठबन्धनका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीले एमसीसी पास गरेर साम्राज्यवादीको दलाली र पृष्ठपोषण गरेको आरोप जनमोर्चाले लगाएको छ । विज्ञप्तिमा भनिएको छ,‘एमसीसी जस्तो राष्ट्रघाती सम्झौता, जसले राष्ट्रलाई दीर्घकालिीन रुपले गम्भीर क्षति पुर्याउने छ, जसको विरुद्ध सम्पूर्ण नेपाली जनता सडकमा उत्रिएको अवस्थामा जालझेल गरेर ध्वनीमतको आधारमा त्यसलाई पारित गरियो ।’

एमसीसी सम्झौतासँगै व्याख्यात्मक घोषणा पारित गर्नुलाई औचित्यहीन भनेको छ । यसलाई एमसीसीविरुद्ध कार्यकर्ताको आक्रोशलाई मथ्थर पार्न गरेको नौटंकीको संज्ञा दिए ।-File Photo



प्रतिक्रिया दिनुहोस्