Logo

शिव मन्दिरमा भक्तजनको भीड



राजविराज, १७ फागुन: शिवरात्रिको अवसरमा सप्तरीको शिवालयमा आज बिहानेदेखि हिन्दू धर्मावलम्बिहरुको पूजापाठका लागि भीड लागेको छ ।

जिल्लाको शम्भुनाथ नगरपालिकामा रहेको ऐतिहासिक एवं पुरातात्विक महत्व बोकेको शम्भुनाथ महादेव मन्दिरमा पूजाआजाका लागि सर्वसाधारणको भीड लागेको छ । आज बिहान ४ बजेदेखि फूलमाला, बेलपत्र, धतुरो, मीठाइ तथा फलफूसहित रङ्गिचङ्गी लुगा लगाइ महिला, पुरुष, बालबालिका, वृद्धवृद्धा शिव मन्दिरमा पूजाआजाका लागि लामबद्ध छन् ।

पूजापाठको लागि सप्तरी, सिरहा तथा भारतको बिहार राज्यका सुपौल र मधुवनी जिल्लालगायत सहरी तथा ग्रामीण क्षेत्रका धर्मावलम्बी सो मन्दिरमा आएका छन् । त्यस्तै राजविराज नगरपालिका नजिकैको नन्देश्वर महादेव मन्दिरमा हजारौको सङ्ख्यामा भक्तजन लाइनमा बसेर पूजाआजा गरिरहेका छन् । महादेव गाउँपालिकास्थित शिव मन्दिर, हनुमानगर कङ्कालनी नगरपालिका– २ सकरदहीमा रहेको महादेव मन्दिर तथा कञ्चरुप नगरपालिकाको बलुवामा रहेको शिव मन्दिर पनि भक्तजनको भीड लागेको छ ।-रासस



प्रतिक्रिया दिनुहोस्