Logo

सामाजिक अपराध न्यूनीकरणमा प्रहरीको सक्रियता



गलकोट, १७ फागुन: लागुऔषध दुव्र्यसनी तथा जुवातासजस्ता सामाजिक अपराध न्यूनीकरणमा प्रहरीले सक्रियता बढाएको छ ।

पछिल्लो समय सामाजिक अपराध न्यूनीकरणमा जिल्ला प्रहरी कार्यालयले सक्रियता बढाएको हो । विगत तीन दिनको अवधिमा प्रहरीले १२२ एम्पुल लागुऔषध, ३७ हजार नगदसहित चार जनालाई पक्राउ गरिएको छ भने अवैध नदी दोहन गर्ने चार ट्र्याक्टरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक विजय भण्डारीले जानकारी दिए ।

बागलुङ नगरपालिका–९ तित्याङ घरभई बागलुङ बजारको रामरेखास्थित कोठाबाट प्रहरीले फेनारगन १४, डाइजेपाम १४ र नुरफिन १३ गरी कुल ४१ एम्पुल लागुऔषधसहित रोशन थापालाई पक्राउ गरिएको छ । यसैगरी लुकाएर राखिएको अवस्थामा प्रहरीले फेनारगन २७, डाइजेपाम २७ र नुरफिन २७ गरी कुल ८१ एम्पुल लागुऔषधसहित बागलुङ नगरपालिका–४ का अभिनाश बोहोराले पक्राउ गरिएको छ ।

यस्तै बागलुङ नगरपालिका–१ कालिका मन्दिर गेटमा स्वीकृतबिना लक्की सेभेन स्केल (डार्ट) खेल खेलाउनका लागि विभिन्न बोर्ड सङ्कलन गरिराखेको अवस्थामा प्रहरीले लामा र मनबहादुर हर्मेललाई रु ३७ हजारसहित पक्राउ गरेको प्रहरी निरीक्षक भण्डारीले जानकारी दिए । प्रहरीले यस्तो खेललाई जुवा मान्दै आएको छ ।

पछिल्लो समय जिल्लामा जुवातास खेलाउने गिरोह बढिरहेको जनगुनासो आएपछि सुक्ष्म रणनीति योजना बनाएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दयानिधि ज्ञवालीले जानकारी दिए । उनका अनुसार गत शुक्रबार अवैधरुपमा कालीगण्डकी नदीबाट नदीजन्य पदार्थको ढुवानी गर्ने चार ट्र्याक्टरलाई नियन्त्रणमा लिएर कारबाहीका लागि बागलुङ नगरपालिकामा पठाइसकेको छ । हालै मात्र सरुवा भएर बागलुङ आएका प्रहरी उपरीक्षक ज्ञवालीले आफूले शान्ति सुरक्षामा कुनै कसुर बाँकी नराख्ने बताए ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्