Logo

नेपालको भूमिबाट चीन र भारतले आफूहरु विरोधी गतिविधि हुन्छ कि भनेर चासो राख्नु स्वाभाविक हो: अध्यक्ष नेपाल



काठमाडौँ, १७ फागुन। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपालको भूमिबाट भारत र चीनलाई कुनै खतरा हुन्छ भनेर चासो व्यक्त गर्नु स्वाभाविक भएको बताएका छन् । एमसिसी अनुमोदनसँगै उठेका आशङ्कामाथि प्रस्ट्याउन आज आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्।

“नेपालको भूमिबाट चीन र भारतले आफूहरु विरोधी गतिविधि हुन्छ कि भनेर चासो राख्नुलाई हामी अस्वाभाविक मान्दैनौँ, नेपाल असंलग्न परराष्ट्र नीति अँगाल्ने देश हो भनेर हामी भन्न चाहन्छौँ,” उनले भने, “नेपालको भूमि शान्ति भूमि हो, अशान्त हुन सक्दैन, नेपाल कुनै पनि गतिविधिमा संलग्न हुँदैन । नेपालबाट छिमेकी ढुक्क भए हुन्छ । हामी त्यस्तो हुन दिँदैनौँ ।”

सभामुखको पक्षमा दृढतापूर्वक उभिन्छौँ

अध्यक्ष नेपालले सभामुख अग्निप्रसाद सापकोटाले घुँडा टेक्ने कुरै नभएको बताएका छन् । उनले सभामुखको पक्षमा एकीकृत समाजवादी पार्टी दृढतापूर्वक उभिने बताए । “सभामुखले खुरुक्क राजीनामा दिने ? यो कुरा केपी ओलीले नचिताए हुन्छ”, उनले भने, “हामी सभामुखको पक्षमा दृढतापूर्वक उभिन्छौँ ।”

सभामुखले संसद् र सांसदहरुको अधिकारको रक्षा गरिरहनुभएको उहाँको टिप्पणी थियो । सभामुखमाथि अनुचित आरोप नलगाउन पनि उनले एमालेलाई चेतावनी दिए । “सभामुखप्रति अपमानजनक व्यवहार गर्ने, सभामुखको गरिमाको रक्षा गर्नुपर्दैन ?”, प्रश्न गर्दै अध्यक्ष नेपालले भने, “एमालेको यो प्रवृत्ति गलत छ ।”



प्रतिक्रिया दिनुहोस्