Logo

जिल्ला न्यायाधीश स्वतः मुख्य निर्वाचन अधिकृत



काठमाडौं । निर्वाचन आयोगले जिल्लामा निर्वाचन सम्पन्न गराउने प्रतिनिधिका रूपमा रहने मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्ति गर्न तयारी थालेको छ । न्याय परिषद्ले सिफारिस गरी ४ सय ६७ जनाको नामावली पठाएपछि आयोगले सोको तयारी थालेको हो । परिषद्ले स्थानीय तहको निर्वाचनमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका रूपमा खटाउन ४ सय ६७ जना नाम सिफारिस गरी सोमबार आयोगमा पठाएको थियो ।

आयोगको आग्रहमा परिषद्ले सिफारिस गरी पठाएको नाममाथि आयोगले अध्ययन गरिरहेको आयोगले जनाएको छ । प्रत्येक जिल्लाका एक नम्बर न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृतका लागि आयोगलाई सिफारिस गरी पठाएको छ । कुनै न्यायाधीश बिरामी परेको अवस्था वा विशेष कारणवश मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी पूरा गर्न नसक्ने भएमा अन्य न्यायाधीशलाई खटाउनका लागि १५ जना न्यायाधीशलाई जगेडामा पनि राखिएको छ । एक न्यायाधीश मात्रै रहने जिल्लामा ती जिल्लाका न्यायाधीश स्वतः मुख्य निर्वाचन अधिकृत बन्नेछन् ।

त्यसै गरी, निर्वाचन अधिकृतका लागि परिषद्ले न्याय, कानुन र सरकारी वकिल समूहबाट ३ सय ७५ जनाको नाम सिफारिस गरी निर्वाचन आयोगलाई पठाइएको छ । परिषद्ले न्याय समूहबाट १ सय ७९ जना, कानुन समूहबाट ४९ र सरकारी वकिल समूहबाट १ सय ४७ उपसचिवहरुलाई निर्वाचन अधिकृतका रूपमा खटाउन आयोगलाई सिफारिस गरी पठाएको हो ।

यसैको आधारमा आयोगले सम्बन्धित जिल्लाका न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र उपसचिवहरूलाई आवश्यकताअनुसार निर्वाचन अधिकृतका रूपमा स्थानीय तहमा खटाउने तयारी रहेको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्