Logo

जनकपुर साहित्य महोत्सव आजबाट सुरु, जानकी मन्दिर प्राङ्गणमा उद्घाटन हुँदै



जनकपुर, १९ फागुन । तेस्रो संस्करणको जनकपुर साहित्य महोत्सवको आजबाट सुरु हुँदैछ । महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । आज दिउँसो दुई बजे जानकी मन्दिर प्राङ्गणमा उदघाटन गरिने कार्यक्रम रहेको छ ।

जनकपुरधामस्थित जानकी मन्दिर परिसरमा बिहीबारदेखि हुने सो महोत्सव यही फागुन २१ गतेसम्म चल्ने छ ।

जनकपुरसहित मधेस प्रदेशमा साहित्यक अवस्था, सम्भावनाबारे व्यापक छलफल गरी साहित्यिक क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यले साथ आयोजना गर्न लागेको महोत्सवमा देशभरिका ख्यातिप्राप्त स्रष्टाहरुको सहभागिता रहने बताइएको छ ।

साहित्य महोत्सवअन्तर्गत फागुन २० गते समाजमा विभेद, मधेसमा ‘उद्यमी र मधेसको उद्योग तथा शिक्षा संस्कार’ विषयक कार्यपत्रमाथि विश्लेषक डा रामेश कोइलारा, प्राध्यापक डा सुष्मा द्विवेदी, विश्लेषक तुलानारायण साह, पवन मण्डल लगायतका विज्ञहरुले छलफल गर्ने कार्यक्रम तय भएको छ ।

यस्तै फागुन २१ ‘महिला र राजनीति’ बिषयमा प्रदेशसभा सदस्य मञ्जु यादव, पत्रकार सलमा खातुन, एलिजा ढकाल, चमेलीदेवी दास तथा ‘कसको लोकतन्त्र कस्तो लोकतन्त्र’ विषयमा राजनीतिज्ञ सरिता गिरी, विश्लेषक सिके लाल र हरि शर्माले टिप्पणी गर्ने कार्यक्रम रहेको आयोजक समितिले जनाएको छ ।

साथै, ‘मधेसः एक अवसर’ विषयक कार्यपत्रमाथि सांसद विनोद चौधरी, राष्ट्रियसभा सदस्य डा बिमला राई पौडेल तथा ‘परिवर्तनको सिद्धान्त’ विषयमा नेपाली कांग्रेसका महामन्त्री एवम् प्रतिनिधिसभा सदस्य गगन थापाले प्रस्तुति गर्ने कार्यक्रम रहेको आयोजक समितिले जनाएको छ । साहित्य महोत्सवमा वरिष्ठ साहित्यकार खगेन्द्र सङ्ग्रौलाले ‘मधेस, साहित्य र म’ विषयमा कार्यक्रम प्रस्तुत गर्ने तय भएको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्