Logo

खजुरामा जनतासँग स्थानीय सरकार



बाँके, २० फागुन । बाँकेको खजुरा गाउँपालिकाले जनतासँग स्थानीय सरकार कार्यक्रम सञ्चालन गरेको छ । जनता र जनप्रतिनिधिबीच प्रत्यक्ष रुपमा अन्तरक्रिया गरी जनताका समस्या र चाहनाअनुरुप काम गर्न जनतासँग स्थानीय सरकार कार्यक्रम सञ्चालन गरिएकोे गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए ।

उनका अनुसार जनतासँग स्थानीय सरकार कार्यक्रममा गाउँपालिकाका सम्बन्धित शाखाका प्रमुख, प्रमुख प्रशासकिय अधिकृतदेखि सम्पूर्ण जनप्रतिनिधिले जनताको घरदैलामा गएर गुनासा सुन्ने र समाधानको उपाय अपनाउनतिर ध्यान दिइनेछ ।

“हाम्रो काम गराइएको तरिका के कस्तो छ रु जनताले स्थानीय सरकारबाट के चाहिरहेका छन् भन्ने कुरा बुझ्न हामी जनतासँग स्थानीय सरकार कार्यक्रम सञ्चालन गरेका छौँ,” उनले भने, “कार्यक्रमका क्रममा जनताबाट आएका गुनासा र सल्लाहका आधारमा गाउँपालिकाको सेवालाई थप सहज तरिकाले प्रवाह गर्न सहयोग पुग्ने हाम्रो अपेक्षा छ ।”

जनतासँग स्थानीय सरकार कार्यक्रमसँगै सोमबारदेखि गाउँपालिकाले आठवटै वडामा निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ । स्वास्थ्य शाखाको आयोजना तथा भिजन आँखा अस्पतालको सहकार्यमा खजुरा गाउँपालिका अन्तर्गतका आठै वटा वडाका स्वास्थ्य संस्थामा निःशुल्क आँखा शिविर सञ्चालन हुने स्वास्थ्य शाखाप्रमुख सुदीप पौडेलले जानकारी दिए ।

ज्येष्ठ नागरिकलाई शल्यक्रिया गर्नुपर्ने भएमा निःशुल्क शल्यक्रिया गरिने उनले बताए । जनतासँग स्थानीय सरकारअन्तर्गत बिहीबार वडा नं ८ बाट सुरु भएको आँखा शिविरको खजुरा गाउँपालिका अध्यक्ष कक्षपतिले शुभारम्भ गर्दै पालिकाले दिएको निःशुल्क आँखा जाँच र औषधि सेवा लिन ज्येष्ठ नागरिकलाई आग्रह गरे ।

विगतका वर्षहरुमा पनि आँखा शिविरका साथै स्वास्थ्य शिविर सञ्चालन गरिएको थियोे । अध्यक्ष कक्षपतिले जनतालाई सर्वसुलभ स्वास्थ्य सेवा प्रवाह गर्ने उद्देश्यले बेलाबेलामा यस्ता शिविर गरिएको जानकारी दिए ।

बिहीवार वडा नं ८ मा १६५ जनाको आँखा जाँच भएकामा २९ जनाको शल्यक्रिया गर्नुपर्ने देखिएको प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसीले जानकारी दिए । उनका अनुसार शल्यक्रिया पनि निःशुल्क गरिनेछ । रासस



प्रतिक्रिया दिनुहोस्