Logo

“तातोपानी नाका खोल्न कूटनीतिक पहल र खबरदारी गरिरहेका छौं”



काठमाडौं, २१ फागुन । भोटेकोसी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले तातोपानी नाका पूर्ण रुपमा खुलाउने पहल भइरहेको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै अध्यक्ष पौडेलले भने, “२०७२ को भूकम्पपछि तातोपानी नाका बन्द भएको त नभनौं तर राम्ररी खुलेको छैन । नाका खुलाउने सम्बन्धमा हामीले वाणिज्य मन्त्रालय, परराष्ट्र मन्त्रालय हुँदै उच्चस्तरीय कूटनीतिक पहल पनि गर्यौं । सभामुख अग्निप्रसाद सापकोटाको कार्यकक्षमा पनि बैठक नभएको होइन । पहिले सयौं मालबाहक कन्टेनर आउँथे, अहिले मुस्किलले ५-७ वटा आउँछन् । यसलाई पूर्ण रुपमा सञ्चालन गराउन हामी लागि परेका छौं ।”
तातोपानी नाका पूर्ण रुपमा सञ्चालन नहुँदा रोजीरोटीमा समस्या आएको पनि उनले बताए । उनले भने, “तातोपानी ऐतिहासिक नाका हो । नेपाली अर्थतन्त्रलाई धान्ने नाका पनि हो । तर बेइजिङले पूर्ण रुपमा नखोल्दा र सामान आउन नसक्दा रोजीरोटीमै समस्या देखा परेको छ । यसको समाधान हुनु जरुरी छ ।”
आफूले चीनबाट नेपालमा सामान आउने मात्र होइन, नेपालबाट पनि चीनमा सामान पठाउने वातावरण तयार गर्नु जरुरी रहेको उनले बताए । गाउँपालिका अध्यक्ष पौडेलले भने, “मालवाहक कन्टेनरको संख्या बढाउने हाम्रो पहल कदमी आफ्नो ठाउँमा छ । त्यसमा खबरदारी गर्ने काम पनि भइरहेको छ । तर उताबाट सामान आउनु मात्र पनि ठूलो कुरा होइन । नेपालका सामान पनि त्यता जानुपर्छ । निकासी र पैठारी दुवै भएन भने आर्थिक सम्बन्ध असन्तुलित हुन जान्छ ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot