Logo

प्रहरीले अण्डकोषमा हानेर हत्या गरेको आरोप



वीरेन्द्रनगर, २१ फागुन । प्रहरीको नियन्त्रणमा परेका युवकको मृत्यु भएको घटनाको विरोधमा उत्रिएकाले आगजनी र तोडफोड गरेपछि सुर्खेतमा तनाव भएको छ । युवकका आफन्त र स्थानीयले वीरेन्द्रनगरमा तोडफोड र आगजनी गरेका हुन् ।

प्रदर्शनमा उत्रिएकाले युवकको प्रहरीले कुटपिट गरेर हत्या गरेको आरोप लगाएका छन् । उनीहरुले दोषीमाथि कारबाही र परिवारलाई क्षतिपूर्तिको माग गरेका छन् ।

२० फागुनको राति नेपालगञ्जबाट सुर्खेत आउँदै गरेका कालिकोट तिलागुफा नगरपालिकाका ३४ वर्षीय मिनी हमालसहित तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरुले मदिरा सेवन गरेको र प्रहरीले नियन्त्रणका क्रममा बल प्रयोग गरेको बताइएको छ ।

चालक र सहचालकलाई प्रहरीले कुट्न थालेपछि हमाल रोक्न गएको बताइएका थिए । त्यस क्रममा प्रहरीले हमालको अण्डकोष र पेटमा लान हानेको चालक र सहचालकले बयानमा भनेको बुझिएको छ । हमालको पेट र अण्डकोषमा चोट लागेको आफन्तको दाबी छ ।

हमाल कालिकोट नाग्म बजारका व्यवसायी हुन् । उनलाई मादक पदार्थ सेवन गरे या नगरेको जाँच गर्न सुर्खेत अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीको दाबी छ । सुर्खेत अस्पतालले भने हमालको मृत्यु भइसकेको अवस्थामा पुर्याइएको जानकारी दिइसकेको छ । अस्पतलाले यसबारे विज्ञप्ति जारी गरी अस्पताल पुग्दा हमालको मृत्यु भइसकेको उल्लेख गरेको छ ।



प्रतिक्रिया दिनुहोस्