Logo

रुस-युक्रेन युद्ध लम्बिने संकेत



एजेन्सी, २२ फागुन । रुस र युक्रेनबीच युद्ध लम्बिने संकेत देखिएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो माग पूरा नभएसम्म युक्रेनमाथिको कारबाही नरोक्ने बताएपछि युद्ध लम्बिने संकेत देखिएको छ । युक्रेनका राष्ट्रपति भोल्दोमोर जेलेन्स्कीले भने रुसलाई पराजित गरिछाड्ने बताएका छन् ।

रुस कुनै हालतमा युक्रेनको वर्तमान सत्तालाई ढाल्न चाहन्छन् । युक्रेनका राष्ट्रपति जेलेन्स्की भने रुसलाई पराजित गर्ने बताइरहेका छन् । दुवैको अडानका कारण युद्ध १२औं दिन पुगिसकेको छ ।

आज रुसी राष्ट्रपति पुटिनले टर्कीका राष्ट्रपति रिसेप इरडोगेनसँग टेलिफोन संवाद गरेका छन् । संवादका क्रममा उनले रुसको माग युक्रेनले पूरा नगरेसम्म आक्रमण जारी रहने बताए । उनले सबै योजनामुताबिक नै सफलता हासिल भइरहेको दाबी गरे ।

युक्रेनलाई समुन्द्रबाट सम्पर्क विच्छेद गर्नेगरी दक्षिणी भूभागमा रुसले पकड बनाउँदै लगेको छ । बन्दरगाह भएका शहरहरुमा पकड बनाएको छ ।

युक्रेनका राष्ट्रपति जेलेन्स्कीले अमेरिकासहित नाटो राष्ट्रहरुसँग युद्धक विमानको सहयोग मागेका छन् । हतियार सहयोग पाइरहेको युक्रेनलाई हवाई सहयोग दिन भने नाटो तयार भएको छैन । युक्रेनले आफ्नो देशलाई उडान निषेधित क्षेत्र घोषित गर्न पनि भनेको छ । तर, नाटो त्यसका लागि तयार छैन । पुटिनले उडान निषेधित क्षेत्र घोषणा गर्ने जुनसुकै देशले युद्धको घोषणा गरेको ठहरिने बताइरकेको छ ।

युक्रेनमा युद्ध लम्बिदै जाँदा यूरोपमा शरणार्थी संकट बढेको छ । १५ लाख मानिसहरु युक्रेनबाट पोल्यान्ड, मोल्दोभा, रोमानिया, हंगेरीलगायतका देश पुगेका छन् । यूरोपमा इन्धनको मूल्य आकाशिएको छ । युद्ध लम्बिदै गएमा विश्वमै ठूलो संकट आउने देखिएको छ । यसको असर सबैभन्दा बढी यूरोपमा पर्न थालेको छ ।



प्रतिक्रिया दिनुहोस्