Logo

नेतात्रयको अवधारणा अनुसार मलाई वरिष्ठ नेता बनाउनु पर्छः गोपालमान श्रेष्ठ



काठमाडौं, २३ फागुन । नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले नेतात्रयको अवधारणा अनुसार आफूलाई वरिष्ठ नेता बनाउनुपर्ने बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता श्रेष्ठले भने, “शेरबहादुर देउवा, रामचन्द्र पौडेल र म समकक्षी हौं । हाम्रो पार्टीमा पहिलेदेखि नै नेतात्रयको कन्सेप्ट छ । पहिले गणेशमानजी, किसुनजी र गिरिजाबाबु हुनुहुन्थ्यो । अहिले पनि दोस्रो नेता रामचन्द्र पौडेल हुनुभएपछि तेस्रो नेता मै हुँ । उहाँले बनाउँदिनँ भन्नुभएको छैन ।म २०१७ सालदेखि सक्रिय भएर पार्टीमा लागेको हुँ । उपसभापति र कार्यवाहक सभापति भइसकेको छु । म वरिष्ठमध्येको वरिष्ठ हुँ । निर्वाचित केन्द्रीय सदस्य पनि हुँ । मलाई वरिष्ठ नेता बनाउँदा केही फरक पर्दैन ।”
उनले आफूलाई वरिष्ठ नेता बनाउन विज्ञप्ति नकिाले पुग्ने पनि बताए । उनले भने, “मैले चौधौं महाधिवेशनमै शेरबहादुरजीको उत्तराधिकारीका रुपमा सभापतिमा उठ्न चाहेको थिएँ । तर उहाँले एक पटक फेरि सहयोग गर्नुपर्यो भन्नुभयो । मैले उहाँलाई ८२ प्रतिशत अर्थात् अत्यधिक बहुमतले जिताएँ । त्यो भनेको संगठन विभागमा रहेर मैले चुस्त दुरुस्त काम गरेको प्रतिफल हो । शेरबहादुरजीले रामचन्द्रजीलाई घोषणा बेगर वरिष्ठ नेता बनाउनुभयो । उहाँलाई बनाएपछि मलाई पनि बनाउनुपर्यो ।”
नेता श्रेष्ठले शेरबहादुर देउवाले आफूलाई तेह्रौं महाधिवेशनमै वरिष्ठ नेता दिने वचन दिएको खुलासा पनि गरे । उनले थपे, “शेरबहादुरजी मेरो मित्र हो, साथी हो, २०२० सालदेखिको । हामीले सँगै जेलनेल खायौं । उहाँले तेह्रौं महाधिवेशनमा विमलेन्द्र निधिलाई उपसभापति बनाउँदा मलाई वरिष्ठ नेता बनाउने वचन दिनुभएको हो । त्यो गर्न सक्नुभएन । पार्टीको वरियताक्रममा मेरो असहमति छ । अहमति जनाइरहेको छु । पदाधिकारी प्रथम, द्वितीय, तृतीय अतिथि बनाएको ठाउँमा गएको छैन । कांग्रेसमा केन्द्रीय सदस्यमध्ये म ज्येष्ठ हुँ । तैपनि शेरबहादुरजीले किन हिम्मत गरिरहनुभएको छैन ? एउटा विज्ञप्ति निकालिदिए पुग्छ ।”
तपाईंलाई वरिष्ठ नेता बनाएपछि शेखर कोइरालालाई पनि बनाउनु पर्ला नि भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, “उपसभापति पूर्णबहादुर खड्काजीले सदासर्वदा मलाई सम्मान गर्नुहुन्छ । अर्का उपसभापति धनराज गुरुङजी मैले नै नेविसंघ बनाएको भाइ हो । पदाधिकारी हुँदैमा वरीयतामा माथि पुग्ने होइन । बीपीको पालामा तुलसी गिरीलाई महामन्त्री भए पनि उहाँको स्थान तल थियो । शेखर कोइराला जितेको भए सभापति नै हुनुहुन्थ्यो । हारेपछि पदेन सदस्य हुनुुहुन्छ । उहाँहरु कसैले अब्जेक्सन गरेको मलाई थाहा छैन ।”
वरिष्ठ नेता नबनाए के गर्नुहुन्छ भन्ने धमलाको प्रश्नमा उनले थपे, “सभापतिजीले व्यवस्थापन गर्छु भन्नुभएको छ । मलाई लाग्छ, सभापतिले दिएको वचन पूरा गर्नुहुन्छ । बनाउनुभएन भने देखा जायगा ।”
एमालेले संसद्लाई बन्धक बनाइराख्ने हो भने अर्ली इलेक्सनमा जानुपर्ने नेता श्रेष्ठले औंल्याए । उनले भने, “सबभन्दा राम्रो त एमालेले संसद् खोल्नुपर्यो । समाधान ननिस्कने एउटै माग राखेर नाराबाजी गरिरहने हो भने अर्ली इलेक्सनमा जानु राम्रो हो । किनभने धेरै कानुन बनाउनु छ । संसद्को काम रोकिएको छ । पछि सर्वोच्च अदालतले जे गर्छ, गर्छ ।”
स्थानीय तहमा आवश्यकता अनुसार गठबन्धन गर्न सकिने पनि उनले बताए । उनले थपे, “गठबन्धन गर्नै हुन्न भन्ने छैन । हामीले २०७४ मा पनि गठबन्धन गर्न चाहेका हौं । तर, हामीसँग कुरा गर्दागर्दै ४० प्रतिशत पाएँ भनेर माओवादी एमालेसँग गयो । तर धोका भयो । पहाडमा अवस्था र स्थान हेरेर माओवादी केन्द्र र एकीकृत समाजवादीसँग तालमेल गर्न सकिन्छ । मधेसमा मधेसवादीसँग पनि गर्न सकिन्छ । तर कांग्रेस एक्लै जान पनि सक्षम छ ।”
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले अझै पनि आत्मसमीक्षा गरेर मार्गप्रशस्त गर्नु राम्रो हुने कांग्रेस नेता श्रेष्ठको सुझाव छ । उनले भने, “सर्वोच्च अदालत अहिले यति नराम्ररी फस्यो । प्रधानन्यायाधीशले समयमै सोचेको भए यस्तो अवस्था आउँदैनथ्यो । उहाँलाई बार र बेन्चले नमानेपछि मार्गप्रशस्त गरिदिनुपर्थ्र्यो । अझै पनि उहाँलाई रियलाइजेसन गरेर मार्गप्रशस्त गर्ने समय छ ।”



प्रतिक्रिया दिनुहोस्