Logo

समान हक र सहभागिता दिलाउन नीति र कानुन आवश्यकः मुख्यमन्त्री राई



मोरङ, २४ फागुन । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले महिलालाई शिक्षाबाट वञ्चित गरेमा मुलुकको विकासमा बाधा पुग्ने बताएका छन् । राज्यले महिलाहरुलाई समान हक र समान सहभागिता दिलाउन आवश्यक नीति र कानुन बनाउनुपर्नेमा उनले जोड दिएका छन् ।

सामाजिक विकास मन्त्रालयद्वारा ११२औँ अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा आज आयोजित कार्यक्रमको उद्घाटन गर्दै उनले महिलाको समानुपातिक प्रतिनिधित्व थप हुनुपर्नेमा जोड दिँदै उनीहरुको सुझबुझ र श्रमबाट घरपरिवार, समाज र देशको चौतर्फी विकास हुने धारणा राखे । समाजमा भ्रुण हत्या जस्तो अवैध कार्य भइरहेकोले सबैले यस कार्यलाई अविलम्ब रोक्नुपर्नेमा उनको जोड थियो ।

यस्तै, स्वास्थ्यमन्त्री जयराम यादवले महिलाले आफ्नो अधिकार मागेर प्राप्त नभएमा खोसेर लिनुपर्ने धारणा राखिन । उपसभामुख सरस्वती पोखरेलले महिलाको सङ्घर्षबाट स्थानीय पालिकामा ४० प्रतिशत प्रतिनिधित्व सुनिश्चित भएको चर्चा गर्दै छोरीलाई उच्च शिक्षा अध्ययन गर्नबाट वञ्चित गराउन नहुने बताइन् ।

मुख्यमन्त्री राई शुभकामना

यसैबीच प्रदेश नं १ का मुख्यमन्त्री राईले ११२औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा लैङ्गिक समानता, महिला सशक्तिकरण, महिला अधिकारको सुनिश्चतताको कामना गरेका छन् ।

मुख्यमन्त्री राईले ‘सामाजिक न्याय र लैङ्गिक समानता, दिगो विकासको सुनिश्चिता’ भन्ने नाराका साथ आज मनाउन लागिएको दिवसको अवसरमा संसारभरिका दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गरेका हुन् ।

अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा महिलामाथि हुने सबै किसिमका भेद्भाव तथा हिंसा अन्त्य गरी सभ्य समाज निर्माण गर्न नवीनतम् पहलका लागि हामी सबै एकजुट हौँ भन्ने आह्वान गर्दै मुख्यमन्त्री राईले नेपालको संविधानले गरेको व्यवस्था र महिला अधिकारका सम्बन्धमा अन्तर्राष्ट्रिय मञ्चमा नेपालले व्यक्त गरेका प्रतिबद्धताहरू पूरा गर्न हौसला प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot