Logo

निलम्बनमा जननिर्वाचित पाँच जना सांसद



काठमाडौं,फागुन २५ । प्रतिनिधिसभामा जननिर्वाचित पाँच जना सांसद विभिन्न आरोपमा निलम्बनमा परेका छन् । जनताबाट निर्वाचित उनीहरू जनताकै क्रुर हत्या अभियोगदेखि भ्रष्टाचार र बलात्कार मुद्दा खेपिरहेका छन् ।

वर्षौंदेखि मुद्दा खेप्दै आइरहेका सांसदहरूमा नेपाली कांग्रेसका दुई र जसपाका दुई सांसद छन् । त्यस्तै, एमालेका एक सांसद बलात्कार प्रकरणमा निलम्बनमा छन् ।

निलम्बित हुनेमा कांग्रेसका विजयकुमार गच्छदार र मोहमद अफताव आलम, जसपाका रेशमलाल चौधरी र हरिनारायण चौधरी तथा एमालेका मोहन बानियाँ छन् ।

प्रतिनिधिसभा नियमावलीको नियम २२४ मा कुनै पनि अपराधमा पक्राउ परेका सांसद हिरासतमा रहेको अवस्थामा वा प्रचलित कानुनबमोजिम तीन वर्ष वा सोभन्दा बढी कैद सजाय हुने वा नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोगपत्र दायर भई पुर्पक्षका लागि थुनामा रहेको अवस्थामा निलम्बनमा पर्ने उल्लेख छ ।

फौजदारी मुद्दामा अदालतको अन्तिम फैसलाले कैद सजाय हुने ठहर भएमा त्यस्तो कैदमा बस्नुपर्ने अवधिभर वा कुनै सदस्यले फौजदारी मुद्दामा अदालतको फैसलाबमोजिम कैदको सजाय भुक्तानी गरिरहेकोमा सो अवधिभर स्वतः निलम्बन भएको मानिने नियमावलीमा उल्लेख छ । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्