Logo

स्थानीय तहको निर्वाचनमा गठबन्धनको ठेगान छैनः डा. डिला संग्रौला



काठमाडौं, २५ फागुन । नेपाली कांग्रेसकी नेतृ डा. डिला संग्रौलाले स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने कि नगर्ने निर्क्यौल नभएको बताएकी छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेतृ डा. संग्रौलालो भनिन्, “स्थानीय तहको निर्वाचनमा गठबन्धनमा जाने वा नजाने निर्क्यौल छैन । स्थान हेरेर तालमेल हुनै नसक्ने पनि होइन । तर निर्वाचनको तयारी भने भइसकेको छ । केन्द्रीय प्रतिनिधि अबको एक महिनासम्म जिल्लामा बस्नेछन् । हरेक वडामा घरदैलो गर्ने, टोलटोलमा समिति समिति गठन गर्ने प्रशिक्षण दिने, कांग्रेसले गरेका कामबारे बताउने, एमसीसीका भ्रम चिर्ने, स्थानीय समस्या उजागर गर्ने, पार्टी एकता प्रदर्शन गर्ने काम हुन्छ । तर सांसदलाई प्रतिनिधिका रुपमा खटाइएको छैन ।”
उनले सिहंदरबारको अधिकार गाउँ गाउँमा पुर्याउने कांग्रेस नै भएको बताइन् । डा. संग्रौलाले भनिन्, “आर्थिक समृद्धिका मोडल कोर्ने नेपाली कांग्रेस नै हो । पूर्वाधारको विकास गर्ने पार्टी पनि नेपाली कांग्रेस नै हो । सिंहदरबारको अधिकार गाउँगाउँमा लैजाऊँ भन्ने पनि कांग्रेस नै हो । तर गत निर्वाचनमा जनताले हामीलाई प्रतिपक्षमा राखे । जसलाई दुई तिहाइ दिए, विकास समृद्धिको योजनाभन्दा भ्रष्टाचार मौलायो । कोरोनामा जनताले सामान्य औषधोपचार समेत पाएनन् ।”
नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनेपछि जनताले खोप पाएको उनको दाबी छ । उनले भनिन्, ‘नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि जनताले खोप पाए । प्रधानमन्त्रीको नारा नै थियो, खोप, खोप, खोप । नागरिक बुस्टर डोज पाए । बच्चाले पनि खोप पाउन थालेका छन् । जनतको जीवनरक्षा सरकारको पहिलो काम हो । त्यो काममा सरकार सफल भएको छ । अरु कामका लागि गठबन्धन दलहरु पनि सहयोगी हुनुपर्यो ।’
कांग्रेसको नेतृत्वमा बहुमतको सरकार बनाएपछि गरिबी हटाउन र रोजगारी बढाउनका लागि आगामी दिनमा प्रयत्नशील हुने पनि उनले बताइन् । डा. संग्रौलाले भनिन्, “हामी अहिले गठबन्धनमा छौं । यो संविधानको रक्षा र निर्वाचनसम्मका लागि हो । सुशासन लोकतन्त्रमा मात्र सम्भव छ । हाम्रो एकल सरकार बनेमा गरिबी हटाउने र रोजगारी बढाउने कार्यक्रम आउँछ ।”

 

 



प्रतिक्रिया दिनुहोस्