Logo

च्याम्पियन्स लिगः बेन्जिमाको ह्याट्रिकमा रियलको जित, अन्तिम १६ बाटै बाहिरियो पीएसजी



काठमाडौं, २६ फागुन । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ बाटै बाहिरिएको छ ।

बुधबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा पीएसजी स्पेनिस क्लब रियल मड्रिडसँग ३–१ गोल अन्तरले पराजित भएको हो । यस जितसँगै रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

पहिलो लेगमा पीएसजीले १–० को जित निकालेको थियो । तर, दोस्रो लेगमा अग्रता जोगाउन नसक्दा पीएसजीले समग्रमा ३–२ को हार ब्याहोरेको हो ।

पीएसजीले गत सिजन च्याम्पियन्स लिगको सेमिफाइनलसम्म पुगेको थियो ।

घरेलु मैदानमा भएको खेलमा जित दिलाउन करिम बेन्जिमाले ह्याट्रिक गोल गरे । बेन्जिमाले १७ मिनेट भित्र शानदार ह्याट्रिक पूरा गरेका हुन् ।

खेलको ३९औं मिनेटमा एमबाप्पेले गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाएका थिए ।

तर,६१औं मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई १–१ को बराबरीमा ल्याए ।

७६औं मिनेटमा बेन्जिमाले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २–१ को अग्रता दिलाए ।

साथै, खेलको ७८औं मिनेटमा बेन्जिमाले ह्याट्रिक पूरा गर्दै रियललाई ३–१ को जित दिलाए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot