Logo

कांग्रेसले सभामुखलाई हटाउन भूमिका खेलेन भने संसद् चल्दैन : शंकर पोखरेल (भिडिओसहित)



काठमाडौं, २६ फागुन । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सभामुख अग्निप्रसाद सापकोटालाई नहटाए संसद् नचल्ने स्पष्ट पारे । उनले भने, “सभामुखले संसद् चलाउन नसक्ने परिस्थिति सिर्जना गरेका छन् । एमालेले १४ सांसदलाई कारबाही गरेको सूचना लुकाएर बसे, विभाजनमा भूमिका खेले ? सभामुखको कुर्सीमा बसेर यस्तो गर्न मिल्छ ? अब संसद् चल्ने र नचल्ने कांग्रेसको हातमा छ । कांग्रेसले सभामुखलाई हटाउन भूमिका खेलेन भने संसद् चल्दैन ।”

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटन गरे वैकल्पिक सरकार गठनका लागि आफ्नो पार्टी सर्वोच्च अदालतको ढोका ढकढक्याउन नजाने स्पष्ट पारेका छन् । प्राइम टाइम्स एचडीबाट हिजो राति प्रसारित ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पोखरेलले भने, “अहिले लोकतन्त्र डिरेल भएको छ । सरकार सरकारजस्तो छैन । संसद् संसद्जस्तो छैन । जनादेश खण्डित भएपछि पुनः जनतामा जानु अपरिहार्य छ । साढे चार वर्षअघि नेकपाका पक्षमा आएको जनादेश प्रचण्ड र माधव नेपालले २३ सिट जितेका शेरबहादुर देउवालाई बुझाए । अदालतले परमादेशमा प्रधानमन्त्री तोक्यो । हामीले विकास र समृद्धिको बाटोतर्फ अघि बढाउने खोज्दा चुच्चे नक्सा प्रकाशित भएपछि हामीमाथि घेराबन्दी भयो । अहिलेको गठबन्धनले डेलिभरी गर्न सकेन । यो संसद्ले औचित्य गुमाइसकेको छ । प्रधानमन्त्रीले विघटन गर्ने हो भने एमाले चुनावी प्रक्रियामा सामेल हुन्छ । एमाले वैकल्पिक सरकार बनाउन अदालत जाँदैन ।”

आगामी चुनावमा नेकपा एमाले एक्लै लड्न तयार रहेको महासचिव पोखरेलले दाबी गरे । उनले भने, “२०७३ मा स्थानीय तहको चुनाव हुँदा माओवादी र कांग्रेसको सरकार थियो । दुवैले मिलेर चुनाव लडेका थिए । तर स्थानीय तहमा एमालेले एक्लै ४० प्रतिशत जितेका थियो । मधेस प्रदेशमा हामी प्रचारमा पनि जान सकेका थिएनौं । अहिले एमालेको पक्षमा जनलहर छ ।”

उनले थपे, “प्रचण्ड र माधव नेपालले गठबन्धनद्वारा एमालेलाई सरकारबाहिर राखे तर जनताबाहिर राख्न सक्दैनन् । जति लामो समयसम्म यो सरकार रहन्छ, त्यति एमालेको पक्षमा जनलहर वृद्धि हुन्छ । हामी अहिले संयुक्त चुनावी घोषणा गरेर जाने पक्षमा छैनौं । स्थानीय तहमा अपवादका रुपमा तालमेल भएछ भन्ने अर्कै कुरा हो । एमालेसँग देशभरि एक्लै जाने असाधारण ताकत छ ।”

माधव नेपाल पक्ष चोइटिएर नेकपा एमालेलाई कुनै घाटा नहुने पनि उनको स्पष्टोक्ति छ । उनले भने, “माधव नेतपालले केन्द्रीय नेता १० प्रतिशत, कार्यकर्ता ५ प्रतिशत, जनतामा २, ३ प्रतिशत मत चोइटाउनुभएको छ । तर हामीले त्यति संख्या त माओवादीबाट ल्याइसकेका छौं । ऋषिजीले चितवनमा जनसागर उत्रिएको देख्नुभएन ? एमालेको ताकत देख्नुभएन ? हामीले पालिका, वडा, जिल्ला अधिवेशन एकै दिन गर्यौं । तर कांग्रेस एक वर्षदेखि लाग्दा पनि अधिवेशन गर्न सकेको छैन । एमालेविरुद्ध जति ठूलो गठबन्धन गरे पनि हुन्छ । जनताको आकर्षण र लहर एमालेका पक्षमा छ । बाँध बाँधेर भेललाई छेक्न सकिन्छ र ?”

प्रचण्ड र माधव नेपाललाई एमसीसीको भारी बोकाउन एमाले सफल भएको पनि महासचिव पोखरेलले बताए । उनले भने, “सत्ताका आवाज दुइटा हुँदैनन् । सत्तापक्ष पनि आफू, विपक्ष पनि आफू हुन मिल्छ ? हामीले प्रधानमन्त्री शेरबहादुर देउवालाई या त प्रचण्ड र माधवलाई साथ लिएर अघि बढ्नुस्, या त सरकारबाट हटाउनुस् भनेका थियौं । हामीले उहाँलाई सत्तामा हिस्सेदार बन्दैनौं, एक्लै चलाउनुस् पनि भनेका थियौं । किनभने सानो दलको नेतृत्वमा ठूलो दल सरकारमा बस्न मिल्दैन । अन्ततः प्रचण्ड र माधव नेपाल भ्रमित हुनुभएकोे थियो, आफैं स्पष्ट हुनुभयो । आफैंले भ्रम पोख्नुभएको थियो, आफैंले उठाउनुभयो । अन्ततः हामी एमसीसीको भारी माधव नेपाल र प्रचण्डलाई बोकाउनसफल भयौं ।”

संसदीय प्रक्रियामा सहभागी नभएको एमाले महाभियोग सिफारिस समितिमा किन बस्यो भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, “हाम्रो आपत्ति सभामुखको भूमिकाप्रति हो, संसदीय समितिप्रति होइन । महाभियोग अदालतलाई प्रभावित गर्ने गलत नियतका साथ ल्याइएको छ । एक जनासँग दण्डित गरेर न्यायालयको शुद्दीकरण हुन सक्दैन । प्रचण्ड र माधव नेपालले आफ्नो विपक्षमा फैसला हुने भयो भनेर दिएको दबाबका कारण महाभियोग आएको भनेका छन् नेपाली कांग्रेसका नेताहरुले । पासै नहुने महाभियोग लगाएकाले सत्तापक्षले फिर्ता लिन्छ र प्रधानन्यायाधीश अदालतमा फर्कने अवस्था आउँछ ।”

 



प्रतिक्रिया दिनुहोस्