Logo

हामीले चुनावमा प्रतिबद्धता गरेको ९५ प्रतिशत काम गरेका छौं : विदुर कार्की (मेयर-बर्दिबास नगरपालिका)



स्थानीय तह निर्वाचनको मिति निर्धारण भएसँगै जनप्रतिनिधिहरूको कार्यकाल अब केही समय मात्र बाँकी छ । जनप्रतिनिधिहरूले पाँच वर्षको अवधिमा आफूले बाचा गरेका कति काम पूरा गरे ? जनपक्षीय कामह कत्तिको भए ? यसै सन्दर्भमा न्युज कारखानाका लागि विशाल बस्नेतले बर्दिबास नगरपालिकाका नगर प्रमुख विदुर कार्कीसँग कुराकानी गरेका छन ।

कार्यकालको उत्तारार्द्धमा हुनुहुन्छ । बर्दिबास नगरपालिकाका मेयरले केही गरेनन् भन्ने मात्र आलोचना छ नि ?

अब आलोचना गर्नेलाई के पो भन्न सकिन्छ र ? उहाँहरू स्वतन्त्र नै हुनुहुन्छ । तर बर्दिबास नगरपालिकाले यो पाँच वर्षको अवधिमा जति काम गरेको छ, जुन घोषणापत्रमा उल्लेख गरिएको झन्डै ९५ प्रतिशत काम हो । जसले गरेको छैन भन्छन् वडामा गएर हेर्न भनिदिनुस् ।

त्यसो भए आलोचना गर्ने वातावरण कसरी सिर्जना भयो त ?

आलोचना हुनु स्वाभाविक पनि हो । जति बढी आलोचना हुन्छ त्यति नै बढी जनतामा कति धेरै अपेक्षा रहेछ भन्ने पुष्टि पनि हुन्छ । जसले जनप्रतिनिधिलाई अझ जिम्मेवार हुन निर्देशित गरेको छ । हामीले हाम्रो कार्यकालभित्रै नगरपालिकालाई समृद्ध बनाउने आधार तयार गर्नेदेखि लिएर अन्य काम पनि सोही गतिमा अगाडि बढाइरहेका छौं ।

के के काम गर्नुभयो र ?

नगरपालिकाको १४ वटै वडा कृषिमा आश्रित छन् । थोरै सहरी क्षेत्र र धेरै ग्रामीण बस्ती छन् । नगरलाई कृषिबाटै समुन्नत बनाउन हामीले विशाल मोडेल एग्रो भिलेजको परिकल्पना गरेका छौ । कतिपय संरचना निर्माण भइसके भने कतिपय बन्ने क्रममा छन् । ८२ बिघा क्षेत्रफलमा फैलिएको यो मोडेल एग्रो भिलेजले जनताको समृद्धि र आर्थिक रूपान्तरणको एउटा सपना बोकेको छ । यसका विशाल संरचना बनेर कार्यान्वयनमा आउँदा कृषि पर्यटनको हिसाबले देशकै अग्रणी आकर्षण क्षेत्र बन्नेछ । नगरभरिका किसानहरूको कृषि उपजलाई भण्डारण गर्न हामीले भव्य शीत भण्डारणको स्थपना गरेका छौं जुन संरचना बन्ने क्रममा छ । त्यसैगरी आइटी सेन्टरको समेत व्यवस्थापन गरेका छौं ।

मोडेल एग्रो भिलेज कहिलेसम्म तयार हुन्छ ?

मोडेल एग्रो भिलेजका अन्य महत्त्वपूर्ण अंगहरूमा उच्च प्रविधियुक्त हाइटेक नर्सरी जसले गुणस्तरीय बिरुवा उत्पादन र वितरणलाई ध्यान दिनेछ, जुन १००८ वर्गमिटरमा फैलिएको हुनेछ । निर्माण कार्य तीव्र गतिमा अगाडि बढिरहेको छ । त्यसैगरी मोडेल एग्रो भिलेजअन्तर्गतको महत्वपूर्ण अंग अघि भनेजस्तै विशाल शीत भण्डारण हो । जहाँ तीन हजार मेट्रिक टन क्षमताको शीत भण्डार गर्ने विशाल घर निर्माणको चरणमा छ ।

यही भिलेजअन्तर्गत प्लान्ट क्लिनिक तथा माटो परीक्षण केन्द्र स्थपना गरिनेछ । यसका लागि प्रक्रियासमेत अगाडि बढेको छ । हामीले यही क्षेत्रभित्रै मेसिनरी कस्टम हायरिङ सेन्टरको स्थपना गर्दैछौं । जसले किसानहरूलाई खेतीपातीमा यान्त्रीकरणको व्यवस्था हुनेछ र कम प्ररिश्रममै प्रशस्त उत्पादन हुने वातावरण निर्माण हुनेमा म ढुक्क छु । डिजिटल अक्सन मार्केटको पनि स्थपना गरिँदै छ । जसले किसानलाई बिचौलियाबाट मुक्त गराउने छ भने सबैभन्दा बढी मूल्य तिर्ने ब्यापारीले किसानहरूले उत्पादन गरेको फसल खरिद गर्न सक्नेछन् । लगभग ४५ प्रतिशत काम भइसकेको छ अब ५५ प्रतिशत काम पनि तुरुन्त सम्पन्न गर्ने दिशामा हामी लागिपरेका छौ ।

नगरभित्र यो गौरवको योजनाअन्तर्गत पर्छ ?

याे तमाम बर्दिबासवासीको समृद्धिको आधार हो । अरु पनि मोडेल एग्रो भिलेजका धेरै महत्वपूर्ण अंग छन् । हामी माछापोखरी तथा भुरा उत्पादन केन्द्र बनाउँदै छौं । फसल ब्यवस्थापन केन्द्रका लागि प्रक्रिया अगाडि बढिसकेको छ । एनिमल ब्रिडिङ सेन्टरको माध्यमबाट हामीले किसानका घर-घरमा उन्नत जातका गाई-भैंसी उत्पादन गर्दैछौं, यसैका लागि भर्खरै मैले हरियाना पुगेर उन्नत मुर्रा जातको ११ वटा राँगा छानेको छु । सम्भवत: यो छिट्टै नगरभित्र आइपुग्नेछन् । फोहोर व्यवस्थापनका लागि जैविक मल उत्पादन केन्द्र, प्रशासनिक तथा तालिम केन्द्र, कृषि र सूचनाका लागि आइसिटी सेन्टर जस्ता सबै प्रक्रिया अगाडि बढिसकेका छन् ।

तपाईको कार्यकालमा सम्झनलायक अन्य काम के के भए ?

सम्झनलायक अनेकौं काम भएका छन् । पहिला त हामी सिकाइको क्रममा थियौं । देशमा संघीयता स्थपना भएपछि हामीले नगरभित्र एउटा प्रणालीको विकास गरेका छौ । हामीले घर-घरमा कृषि सहकारीको माध्यमबाट लगभग मलखादको अभाववाट मुक्त बनाएका छौं । हरेक वडामा नगर जोड्ने शाखा सडक ढलान भएका छन् । हामीले वडा-वडाका समस्यालाई केलाएर प्रशस्त कृषि सडकदेखि सडक स्त्तरोन्नतिको काम गरेका छौं। कैयौ ठाउँमा सडक ढलान भएका छन भने कयौ हुने क्रममा छन् । कालोपत्र पनि त्यतिकै भएको छ । विकासका लागि सडक सञ्जाललाई मुख्य ध्यानमा राखेर सर्वसाधारणको समस्यालाई नजिबबाट नियाल्दै सडक सञ्जालमा उल्लेखनीय विकास भएको छ ।

नगरभित्रको विकट मानिने बर्दिबास-११ लाई अलि बढी ध्यान दिएका छौ । सडक ढलान तथा कालोपत्रे पर्याप्त गर्न नसके पनि बजार जोड्ने विभिन्न शाखा सडकको स्त्तरोन्नतिदेखि फराकिलो बनाउनेसम्मका काम भएका छन् । अहिले पनि खयरमाराका भित्री बस्तीका लागि झन्डै ४२०० मिटर सडक सञ्जाल विस्तार गरेका छौ । अब त्यहाँका जनताले खोलाबाट यात्रा गर्नुपर्ने बाध्यताबाट मुक्ति पाउने छन् । सबै भित्री बस्तीलाई पायक पर्नेगरी निर्मल लामा बहुप्राविधिक विध्यालयमा सडक निकाल्ने गरी काम थालेका छौ ।

स्वास्थ्य क्षेत्रमा सर्वसाधारणको व्यापक जनगुनासो छ नि ?

हामी स्थानीय सरकार भएको हैसियतले जनताका अपेक्षा स्वाभाविक पनि हो । स्वास्थ्य क्षेत्रमा परिवर्तन भएको छ । हामीले कठिन संघर्षका साथ अस्पतालको भव्य भवन निर्माण गरेका छौ । दुईजना विज्ञ डाक्टर, नर्स र कर्मचारी नियुक्त गरेपछि हामीले अस्पतालमा २४ घन्टे सुविधाको व्यवस्थापन गरिसकेका छौ । अहिले अस्पतालमा अन्य निजी अस्पताल जतिकै सुविधा हुँदाहुँदै पनि आकर्षण अझै निजी अस्पतालमा नै रहेको मैले पनि महसुस गरेको छु । हामी अझै पनि स्वास्थ्य क्षेत्रका समस्यालाई केलाउँदै छौ । निजी अस्पतालमा उपचार गराउन नसक्ने सर्वसाधारणका लागि बर्दिबास अस्पतालले राहत प्रदान गरेको छ । वडा-वडामा स्वास्थ्य चौकीको गुणस्तरलाई ध्यान दिएका छौ । स्वास्थ्य भवन सवै वडामा निर्माण गरेका छौ । नर्स तथा स्वास्थ्यकर्मीको अभावलाई ध्यानमा राख्दै अहिले वडा-वडामा पर्याप्त स्वास्थ्यकर्मीको व्यवस्थापन गरेका छौ । प्रसूतिका लागि अहिले बर्थिङ सेन्टर बनाएर टाढा-टाढा जानुपर्ने बाध्यताबाट मुक्ति दिलाएका छौं ।

खानेपानीको क्षेत्रमा के के गर्नु भयाे ?

खानेपानीमा हामीले विशाल फड्को मारेका छौं । पाटुदेखि खयरमारासम्म खानेपानीको विकास भएको छ । खयरमारामा अहिले भर्खरै रोटरी क्लवको सहकार्यमा दुई सय घरधुरीलाई पानीको समस्याबाट मुक्त बनाउने दिशामा उन्मुख भएका छौ । यसअघि पनि हामीले खानेपानीको चरम अभाव रहेका वडाहरूको पहिचान गरी काम अगाडि बढाएका थियौ । कतिपय कमजोरी त हामीबाट पनि भएका हाेलान् । सम्पूर्ण आलोचनालाई मैले कहिल्यै नराम्राे रूपमा हेरिनँ । काम गर्दै जाँदा कतै ढिला कतै छिटो भएको पक्कै हो ।

शिक्षाको विकासमा नगरपालिकाले के के गर्‍यो ?

शिक्षाकाे विकासमा फड्को मारेका छौ । तर सन्तुष्टि भइहाल्ने आधार पक्कै हैन । तर हामीले हाम्रो कार्याकाल सुरु गरेपछि निक्कै परिवर्तन गरेका छौं । यसकाे श्रेय म गिरिराजमणि दाइलाई पनि दिन चाहन्छु । हामीले हरेक विध्यालयमा प्राविधिक धारका कक्षा सञ्चालन गरेका छौ । अहिले साँच्चै भन्ने हो भने बर्दिबास शैक्षिक हव नै बनेको छ । देशैभरिका विध्यार्थीहरूका लागि अध्ययन गर्ने थलो बनेको छ । पूर्वदेखि पश्चिमका विध्यार्थीहरू अहिले अध्ययनका लागि बर्दिबासमै आइपुग्छन् । प्रदेशकै नमुना प्राविधिक विध्यालयदेखि हरेक कुनाकाप्चाका विध्यालयमा हामीले ध्यान दिएका छौ । हामीले ६२ जना शिक्षक एकैपटक नियुक्त गरी अध्यापनका लागि पठाएका छौ ।

 



प्रतिक्रिया दिनुहोस्